राष्ट्र बैंक नेतृत्वविहीन: गभर्नर नियुक्तिको मिति सरेको सर्यै, ओलीले दिएको समयसीमा सकियो

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्ति प्रक्रिया झन्–झन् लम्बिँदै गएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गभर्नर नियुक्तिका लागि भन्दै आइतबार र सोमबारको छलफलमा बिहीबारसम्म समय दिएका थिए । तर आज पनि गभर्नर नियुक्ति हुने छाँटकाट देखिएको छैन । ओलीले विगतदेखि नै पटक–पटक गभर्नर नियुक्तिको मिति सार्दै आएका छन् ।

केही दिनअघि एक सार्वजनिक समारोहमै कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीका कारण आफ्नो पार्टीले सिफारिस गरेका व्यक्तिलाई गभर्नर नियुक्तिमा ढिलाई नभएको, बरु राष्ट्र बैंकभित्रकै समस्याका कारण प्रक्रिया लम्बिएको बताएका थिए । उनले ओलीले आफूलाई बिहीबारको मन्त्रिपरिषद बैठकबाट कांग्रेसले सिफारिस गरेका व्यक्तिलाई गभर्नर बनाउने वचन दिएका समेत पटक–पटक बताइसकेका छन् ।

सिफारिस समितिका एक सदस्यका अनुसार अर्थमन्त्रीले गभर्नरका सम्भावित ३ उम्मेद्वारहरुको नाम सिफारिस गर्ने गरी समितिको बैठक नै बोलाएका छैनन् । कार्यकाल सकिनु १ महिनाअगाडि नै नियुक्त गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । अघिल्ला गभर्नरको कार्यकाल सकिएको एक महिनासम्म पनि सरकारले गभर्नर नियुक्त गर्नसकेको छैन ।

कांग्रेसले गभर्नरका लागि डा.गुणाकर भट्टको नाम दिइसकेको छ । तर उनको राजीनामा स्वीकृत हुन सकेको छैन । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति देउवाले अगाडि सारेका गुणाकर भट्टलाई नै गभर्नर बनाउने सहमतिबमोजिम बुधबारसम्मको समय मागेका थिए । ओलीले कामु गभर्नर निलम ढुंगानाले रोकेर राखेको भट्टको राजीनामा स्वीकृत गराउने योजना रहे पनि कामु गभर्नर ढुंगाना निष्क्रिय बसिदिनाले राजीनामा स्वीकृत भएको छैन।

राष्ट्र बैंकका स्रोतहरूका अनुसार ढुंगाना भट्टको राजीनामा स्वीकृत गर्ने पक्षमा छैनन्। उनी आफैँ गभर्नरको प्रत्याशी भएका कारण अन्तिम समयसम्म लड्ने मनस्थितिमा रहेको ढुंगाना नजिकको स्रोतको दाबी छ।

गभर्नर नियुक्ति हुन नसकिरहेका बेला देउवाले बोलाए पदाधिकारी बैठक नेपाली कांग्रेसका सभापति देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। शुक्रबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । गभर्नर नियुक्ति लगायतका विषयमा सरकारले निर्णय लिन नसकिरहेका बेला कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *