राष्ट्रपति पौडेलले डिजिटल अर्थतन्त्रको विकासलाई प्राथमिकतामा राख्दै नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिने जनाए। सरकारको योजना डिजिटल कारोबारलाई सहज र सुरक्षित बनाउँदै नागरिकको पहुँचमा ल्याउनेतर्फ केन्द्रित हुने छ।
‘सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘निजी लगानी प्रवर्द्धनका लागि थप नीतिगत सुधार र प्रक्रियागत सरलीकरण गरी व्यवसाय–मैत्री वातावरण निर्माण गरिनेछ।’
त्यस्तै, सार्वजनिक सेवा प्रभावकारी बनाउन फेस लेस सेवा विस्तार गरिने, नागरिक एपलाई मुख्य डिजिटल उपकरणको रूपमा प्रयोग गर्दै अधिकतम सेवा अनलाइनमार्फत प्रदान गरिने उनले बताए। कर प्रशासनलाई सुधार गर्दै करदाता–मैत्री राजस्व प्रणाली विकास गर्न सूचना प्रविधिको अधिकतम प्रयोग गरिने नीति कार्यक्रममा समावेश छ।






