काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल बैंक लिमिटेड तथा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तिलकराज पाण्डेयलाई कारवाही गरेको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नेपाल बैंक लिमिटेडलाई पाँच लाख रुपैयाँ जरिवानासहित बैंकका सीइओ पाण्डेलाई सचेत गराएको छ ।
राष्ट्र बैंकले नेपाल बैंक लिमिटेड र बैंकका प्रमुख कार्यकारी अधिकृत बीच भएको सम्झौता अनुसार उक्त बैंकको रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजना बिच प्रभावकारी तादात्म्यता गराउन नसकेको, समयमै कर्जा स्वीकृति तथा नविकरण गराउन नसकेको, उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरु बिच आपसी समन्वय गर्न गराउन नसकेको देखिएकोले नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमाजिम सचेत गराएको हो ।
नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका तत्कालिन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाईदा हुने क्रियाकलापमा संलग्न रही नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८० को निर्देशन नं. ६/०८० को बुँदा नं. १ को उपबुँदा नं. ५ मा उल्लेखित व्यवस्था ‘सञ्चालकले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन पाइने छैन ।” भन्ने व्यवस्थाको उल्लंघन गरेकोले सो कसुरमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को (ग) बमोजिम राष्ट्र बैंकले पाँच लाख रुपैयाँ जरिवाना गराएको हो ।
नेपाल बैंकको भ्रष्टाचार काण्ड: अध्यक्ष र सिइओमाथि अख्तियारले थाल्यो अनुसन्धान






