काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कामु गभर्नर निलम ढुंगानालाई निर्देशन दिएका छन् ।
आइतबार मन्त्रालयमा बोलाएर ढुंगानालाई उपप्रधानमन्त्री पौडेलले यस्तो निर्देशन दिएको स्रोतले जनाएको छ। भट्टले बैंकको कार्यकारी निर्देशक पद बाट राजिनामा बुझाएको एक साता बितिसक्दा पनि स्वीकृत गरेकी छैनन् । ढुंगानाले प्रतिस्पर्धीलाई सजिलो बनाउन राजीनाम स्वीकृत नगर्ने खुला चुनौती दिँदै भट्ट अयोग्य छन् भन्ने गलत भाष्य निर्माण गरिरहेकी छन्।
केहि दिन अघि सत्ता साझेदार कांग्रेस र एमालेबीच नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक भट्टलाई नयाँ गभर्नर नियुक्त गर्न समझदारी भएको बिषय सार्वजनिक भएपछि राष्ट्रबैंकको कार्यकारी निर्देशकबाट भट्टले एक महिनाको तलबसहित राजिनामा बुझाएका हुन्।
टुंगो लगाईसकेको राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई गिजोलेर प्रक्रिया लम्ब्याउन खोजेपछि गठबन्धन नै धरापमा परेको र सरकार परिवर्तनलको चर्चाकै बीच प्रधानमन्त्रीको निर्देशनमा उपप्रधानमन्त्री पौडेलले ढुंगानालाई राजीनामा स्वीकृत गर्न भनेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रवार साँझ भएको भेटमा उपप्रधानमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । उक्त भेटमा भएको सहमतिअनुसार नै उपप्रधानमन्त्री पौडेलले भट्टको राजिनामा स्वीकृत गर्न निर्देशन दिएको स्रोतको भनाइ छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका भट्ट गभर्नरका लागि आएका नामहरूमध्ये स्वच्छ छवि भएका र सक्षम व्यक्ति मानिन्छन्। दलगत भागवण्डामा आफ्नो मान्छे गभर्नर बनाउन बिचौलियाहरूको चलखेल चुलिएका बेला पनि उनी राजनीतिक ‘खेल’बाट टाढै रहेका व्यक्ति हुन्। त्यसैले पनि उनको नियुक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ।







