काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै ‘निलो रंगका स्यालहरूले हाउभाउ गरिरहेको’ टिप्पणी गरेका छन्।
मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले यस्ता गतिविधि लामो समय नटिक्ने र एमाले आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित हुने दाबी गरे।
‘आजकाल निलो रंगका स्यालहरु निकै हाउभाउ गरिरहेका छन्। तिनीहरुको वास्तविक रुप लामो समय टिक्ने छैन। एमालेले आफूलाई आगामी निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौं।’ उनले भने।
प्रधानमन्त्री ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच रहेको भन्ने आरोपको खण्डन गर्दै त्यस्ता कुरा प्रमाणित गर्न चुनौती दिए। राजनीतिमा छिर्के दाउ, षड्यन्त्र र झेली खेल्नेहरूले लाजशरम पचाएर यस्ता आरोप लगाउने गरेको उनको भनाइ थियो।
‘झूटको सहायतामा सरकारले केही गरेको छैन, देश बर्बाद बनाइरहेको छ वा अपराध गरिरहेको छ भन्ने भ्रम फैलाइएको छ,’ उनले भने।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भन्ने भ्रम फैलाउनेहरूको टाउकामा ‘चिसो पानी खन्याइएको’ उनले टिप्पणी गरे। स्थिरता, विकास र सुशासनले गति लिइरहेको बेला यस्ता आरोप लगाइएको उनको जिकिर थियो।
पार्टीभित्रको राजनीतिका सन्दर्भमा धेरै आलोचनात्मक चेत राख्नुभन्दा विश्लेषणात्मक चेत र एकताको भावना अपनाउनुपर्नेमा उनले जोड दिए। ‘विरोधीको आरोप खण्डन गर्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही होइन,’ उनले भने।
सरकार र नेतृत्वविरुद्ध झूटा आरोप लगाएर भ्रम फैलाइएको भन्दै उनले एमाले र नेपाली कांग्रेसको सहभागितामा बनेको सरकार समयको आवश्यकता भएको दावी गरेका छन्।







