अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने, कर्मचारीलाई इमेल

काठमाडौं । विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न ल्याइएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहयोग परियोजना अमेरिकाले बन्द गर्ने भएको छ । एलन मस्कको सरकारी कार्यक्षमता विभागले संघीय खर्च घटाउने प्रयासको अन्तर्गत यो कदम चालिएको हो भन्ने स्रोतहरूले सीएनएनलाई जानकारी दिएका छन् ।

मंगलवार एजेन्सीका कर्मचारीहरूलाई इमेलमार्फत यो सूचना दिएको थियो । यो सूचना सरकारी कार्यक्षमता विभाग (डोज)ले एमसीसीमा नियन्त्रण गर्न सुरु गरेको एक हप्तापछि मात्र आएको हो ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा करिब ३०० कर्मचारीहरू छन् । मुख्यत वाशिंगटनमा र करिब २० जना विदेशस्थित कार्यालयहरूमा कार्यरत छन् । तर, यूएसएआईडी जस्तै यो संस्था पनि कानुनअनुसार आवश्यक न्यूनतम संख्यामा सीमित गरिने तयारीमा रहेको छ ।

यो संस्था सन् २००४ मा अमेरिकी कांग्रेसद्वारा स्थापित गरिएको थियो । जसलाई तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुसले अमेरिकी सहयोगलाई पारदर्शी र उत्तरदायी बनाउने उपायको रूपमा सुरुवात गरेका थिए । संस्थाको वार्षिक बजेट करिब १ अर्ब अमेरिकी डलर हो । यो संस्थाले विदेशी सरकारहरूलाई विकास परियोजनाका लागि सिधा अनुदान दिन्छ, जसमा एशिया र अफ्रिकामा चिनियाँ प्रभाव घटाउने योजनाहरू पनि समावेश छन् ।

एमसीसी परियोजना नेपालमा पनि भर्खरै सञ्चालनमा आएको छ । नेपालमा सञ्चालित परियोजनाको भविष्य के हुन्छ भन्ने बारेमा अझै आधिकारिक जानकारी गराइएको छैन । पोलिटिको अनलाइनले यसलाई ट्रम्प प्रशासन र डोजको अमेरिकाको विदेशी सहयोग कार्यक्रममाथि भएको नयाँ प्रहार बताएको छ । यसअघि यूएसएआईडी माथि प्रहार गरेको थियो ।

अमेरिकी विदेश मन्त्रालयबाट स्वतन्त्र रहेको एमसीसीसँग हाल २० वटा निम्न आय भएका देशहरूमा ५.४ अर्ब डलरको अनुदान मार्फत विभिन्न परियोजनाहरू कार्यान्वयन चरणमा थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *