काठमाडाैं। सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद कारोबार तथा गतिविधिको संख्या आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार, चालु आर्थिक वर्षमा कुल ७ हजार ३३८ वटा शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन दर्ता भएका छन्। अघिल्लो वर्ष २०७९/८० मा यो संख्या ५ हजार ९३५ थियो।
सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने रिपोर्टिङका लागि इकाइको एएएमएल प्रणालीमा आबद्ध सूचक संस्था, कानुन कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकाय र नियामक निकायको कुल संख्या १ हजार ६ सय ३९ पुगेको छ ।
सूचक संस्थाहरूले इकाइमा पेस गरेको सीमा कारोबारको संख्या २०७९/८० मा १६ लाख ९८ हजार ३ सय ९८ रहेकोमा २०८०/८१ मा १६ लाख ९७ हजार ७ सय १२ रहेको छ ।
सूचक संस्थाहरूले इकाइमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन संख्या २०७९/८० मा ५ हजार ९ सय ३५ रहेकोमा २०८०/८१ मा करिब २४ प्रतिशतले वृद्धि भई ७ हजार ३ सय ३८ पुगेको छ ।
यसरी प्राप्त गरिएका अधिकांश शंकास्पद कारोबार/गतिविधि प्रतिवेदन कर छलीसम्बन्धी, मौद्रिक/बैंकिङ/विदेशी विनिमय/बीमा/सहकारी सम्बन्धी, ठगीसम्बन्धी, चिठ्ठा/जुवा/सट्टेबाजी लगायत सम्बद्ध कसुरसँग सम्बन्धित देखिएको छ ।
प्राप्त शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनमध्ये गत वर्षभन्दा ३४ प्रतिशतले वृद्धि भई २०८०/८१ मा जम्मा विश्लेषण भएको संख्या १ हजार ६ सय ३२ पुगेकोमा तीमध्ये ८ सय ८९ प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकाय तथा नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा प्रवाह गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
तीमध्ये ७ सय ४६ प्रतिवेदन इकाइले भविष्यमा थप जानकारी प्राप्त भए पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको छ ।







