कर्जा सुरक्षण कोष र अग्नि हायर पर्चेजबीच सम्झौता

काठमाडाैं। निक्षेप तथा कर्जा सुरक्षण कोष र अग्नि हायर पर्चेजबीच सम्झौता भएको छ । साना तथा मझौला उद्यमअन्तर्गत यातायात सेवासम्बन्धी व्यवसाय र कृषि कर्जा कार्यक्रमअन्तर्गत कृषि औजार, यन्त्रमा प्रदान गरेको कर्जा सुरक्षण गर्नेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरे र अग्नि हायरको तर्फबाट महाप्रबन्धक अरुणराज उपाध्यायले हस्ताक्षर गरे । यस सम्झौतापत्रमा हस्ताक्षर भएसँगै अग्नि हायर पर्चेजले स्वरोजगार तथा व्यवसाय प्रवद्र्धनका लागि यातायात खरिदमा प्रवाह गरेको अधिकतम तीन करोड साथै व्यावसायीक कृषि प्रवर्द्धनका लागि कृषि औजार तथा उपकरण खरिदमा प्रदान गरेको अधिकतम तीन करोड सम्मको कर्जा कोषले सुरक्षण गर्नेछ ।

कोषमा सुरक्षित कर्जा विभिन्न कारणले असूल हुन नसकेमा अग्नि हायर पर्चेजले कोष समक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले अधिकतम असी प्रतिशतसम्म भुक्तानी दिनेछ ।

यस सम्झौता भएसँगै कोषले आफ्नो व्यवसाय विस्तारलाई नयाँ शिराबाट अगाडि बढाएको जनाएको छ । यसले हायर पर्चेज कम्पनी समेत अन्य बैंक तथा वित्तीय संस्थाहरू जस्तै व्यवसाय विस्तारमा उत्प्रेरित हुने साथै कृषि तथा यातायात क्षेत्रमा स्वरोजगार तथा व्यवसाय विकास गर्न चाहने युवा उद्यमीले सहज रुपमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताबाट कर्जा सुरक्षण नियमावली, २०७५ ले गरेको छुट्टै शीर्षक वा उपशीर्षकअन्तर्गतको कर्जा सुरक्षण गर्नसक्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।

उक्त हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलिया लगायतका पदाधिकारी र अग्नि हायर पर्चेजको कर्जा तथा असूली विभागको विभागीय प्रमुख प्रबन्धक विराट काजी राउतको उपस्थिति रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *