काठमाडाैं । नेपाल वायुसेवा निगमका तीनवटा जहाज ग्राउन्डेड भएका छन् । अन्तर्राष्ट्रिय उडानमा चारवटा जहाज रहेकोमा यतिबेला एउटा मात्र उडानमा छ । विभिन्न कारण तीनवटा जहाज ग्राउन्डेड हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको छ ।
निगमका अधिकांश गन्तव्यहरूमा अहिले उडान ठप्प छ । हरेक दिन उडान रद्द हुँदा टिकट खरिद गरेका यात्रु अलपत्र परेका छन् ।
राम्रो कमाई हुने सिजनमा जहाज नहुँदा तीन दिनयताका आधा दर्जन गन्तव्यमा उड्नुपर्ने उडान धमाधम रद्द हुँदा कम्तीमा २ हजार यात्रु अलपत्र परेको निगमको मार्केटिङ विभागका अधिकारीहरुले जनाएका छन् ।
जहाज ग्राउन्डेड भएपछि निगमले केही यात्रु होटलमा राखेको छ भने केही यात्रु अर्को जहाजमार्फत सम्बन्धित गन्तव्यमा पठाइरहेको छ ।
निगमले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै चारवटा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजमध्ये एउटा वाइडबडी जहाजले मात्र उडान गरिरहेको जनाएको छ ।
त्यस्तै अर्को वाइडबडी जहाजका लागि आवश्यक पार्टपुर्जा बिहीबार नै बेलायतबाट आएको र मर्मत सम्भार पश्चात काठमाडौं–दिल्लीको उडान तालिका रहेको निगमको उक्त विज्ञप्तीमा उल्लेख छ ।
अर्को लुम्बिनी न्यरोबडी अगाडिको पाङ्ग्रामा समस्या देखिएपछि केही दिनअघि साउदीअरबको दमाममा थन्किएको थियो । साउदी एयरलायन्सको सहायतामा मर्मत गरेर मंगलबार बिहान काठमाडौंमा अवतरण भएको त्यो विमानमा पुनः समस्या देखिएपछि निगमले विमानस्थलमा रहेको मर्मतशालामा राखेको छ । आगामी शनिबारदेखि यो जहाजले पनि नियमित उडान गर्ने निगमले जनाएको छ ।






