काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदनको ओइरो लागेकाे छ । कम्पनीले फागुन ११ गतेबाट सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो। सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म ९ लाख ६५ हजार २२१ जनाबाट १ करोड २५ लाख ९६ हजार ५४० कित्ता खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा ६.८३ गुणाले बढी हो।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। कम्पनीका कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्। कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले फागुन १५ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ







