काठमाडौं । सानिमा क्यापिटलले आज (फागुन ६ गते) देखि सामूहिक लगानी कोष सानिमा फ्लेक्सी फण्डको इकाई निष्काशनमा गर्ने भएको छ।
कुल आकार १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई रहेको यस फण्डको ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँबराबरको ४ करोड इकाई क्यापिटलले प्रथम चरणमा सार्वजनिक रुपमा बिक्री खुल्ला गर्न लागेको हो।
४ करोड इकाईमध्ये १ करोड ३० लाख इकाई कोष प्रबर्द्धक सानिमा बैंकलाई र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ। लगानीकर्ताहरुले बाँकी २ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
उक्त फण्डमा न्यूनतम १०० देखि ४० लाख इकाईका लागि फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको अवधीमा सबै इकाई बिक्री नभएको खण्डमा फागुन २० गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।
उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।






