पाथीभरामा केबलकारको माहोल बनाउँदै ढकाल: भन्छन्, ‘बाहिरी मान्छेले अस्वाभाविक चासो राखे’

काठमाडौं। ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा केबलकार बनाउने बिषय निकै विवादित बन्यो ।

केबलकार बनाउने बिषयले धार्मिक, जातीयता र साम्प्रदायिक द्वन्द निम्तिने खतरा भएपछि सरकारले  स्थानीय ‘नो केबलकार’ समूहलाई वार्तामा राखेर उक्त क्षेत्रमा केबलकार योजना स्थगित गर्ने सहमति पछि आन्दोलन रोकिएको छ।

तर आज पत्रकार सम्मेलन गर्दै आईएमइ समूहका अध्यक्ष चन्द्र ढकालले अझै उक्त क्षेत्रमा केबलकार बनाउने चाहना राखेका छन् । ढकालले अबको ठ्याक्कै एक बर्षमा केबलकार चढाएर तपाईहरुलाई पाथीभरा देवीको दर्शन गराउने हो भन्दै पाथिभरामा केबलकार बनाएरै छाड्ने बताए। जसका लागि उनले विभिन्न किसिमबाट माहोल सिर्जना गर्न थालेका छन् ।

सुरुमा यती समूह, त्यसपछि लक्ष्मी इन्टर्कन्टिनेन्टल हुँदै अहिले यस योजना ढकाल नेतृत्वको आईएमई समूहको हो छ। आइएमई समूहले मुलुकका सातवटै प्रदेशमा केबलकार निर्माण गर्ने उद्देश्यले २०७९ सालमा यस केबलकारको काम अगाडि बढाएको हो । तर स्थानीयको अनुमतिविना यस समूहले केबलकारको लागि रुख काट्ने र डीपीआर स्वीकृत गर्ने काम समेत गरेकाले स्थानीय आक्रोषित बनेका थिए ।

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका ११, काफ्लेपाटीदेखि पाथीभरा देवी मन्दिर परिसरभन्दा करिब ७०० मिटर पश्चिमसम्म २ दशमलव ७५ किलोमिटर लामो केबलकारमा ३६ वटा यात्रुवाहक गोन्डोला र दुईवटा सामान ओसारपसार गर्ने गोन्डोला रहने ढकालले जानकारी दिएका छन् ।

केबलकारको माथिल्लो स्टेसनमा तीर्थयात्रीको सुविधाको लागि पानी, शौचालय र अक्सिजनसहित सामान्य आधारभूत संरचना मात्र बनाइने र यी बाहेक यहाँ अरु केही नबन्ने उनको भनाई छ । यसबाट स्वदेशी तथा विदेशी तिर्थयात्री र पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने र यसबाट राज्यलाई कर तथा राजश्व पनि वृद्धि हुने ढकालले विश्वास व्यक्त गरे ।

पाथीभरा केबलकार शिलान्यास भएसँगै केही व्यक्तिहरुले निर्माणका काममा अवरोध सृजना गर्ने र निजी लगानीलाई दुरुत्साहन गर्ने गतिविधि सुरु गरेको भन्दै ढकालले केबलकार आयोजनाको विषयलाई लिएर समग्र निजी क्षेत्रमाथि प्रहार भईरहेको बताए। केबलकार यातायातको साधन मात्र भएकाले पाथीभरा देवीको दर्शनमा जाने तीर्थयात्रीलाई सहजता होस् भन्ने उदेश्यले केबलकार बनाउन लागिएको उनको भनाई छ।

ढकालले आइएमई समूह पाथीभरा केबलकार कम्पनीमा करिब दुई वर्ष पहिलेमात्र संलग्न भएको भन्दै अहिले आएर केबलकार बनाउने वा नबनाउने कुरा राष्ट्रियकरण गर्नु राम्रो नभएको बताए । आइएमई ग्रुपको संलग्नतापछि केबलकार निर्माणको विषयले गति लिएको स्पष्ट पार्दै उनले स्थानीयहरुले केबलकार निर्माण गर्न नहुने तर्क दिएपछि माग बमोजिम डीपीआर परिवर्तन गरेर निर्माण कार्य अघि बढाएको बताए।

स्थानीयभन्दा जिल्ला बाहिर बस्नेहरुले पाथीभरामा केबलकार बन्न नहुने अस्वाभाविक चासो राखेको उनको आरोप छ। विकासका काममा वादविवाद गर्न नमिल्ने र यसले निजी लगानीलाई नै दुरुत्साहन गर्ने ढकालको तर्क छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *