नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो केन्द्रीय बैठक हेटौंडामा सम्पन्न

काठमाडाैं। नेपाल जग्गा तथा आवास विकास महासंघको केन्द्रीय कार्यकारिणी समितिको दोश्रो बैठक माघ ४ गते मकवानपुर घरजग्गा व्यवसायी संघको आयोजनामा हेटौंडामा सम्पन्न भएको छ। कार्यक्रममा महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेको सभापतित्वमा र हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

छलफल तथा अन्तरकृया कार्यक्रममा हेटौंडास्थित स्थानीय निकायका पदाधिकारी, उद्योग वाणिज्य संघ, पत्रकार संघ, लेखापढी संघ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अन्य जिल्लाबाट आएका रियल इस्टेट व्यवसायीहरू गरी करिब १५० जनाको उपस्थिति थियो। महासंघका वरिष्ठ उपाध्यक्ष विदुर धमला र उपाध्यक्ष दीपक कुँवरले घरजग्गा व्यवसायलाई उत्पादनमूलक र पूर्वाधार निर्माण उद्योगको रूपमा विकास गर्नुपर्ने र तीनै तहका सरकारसँग सहकार्य गर्न महासंघ प्रतिबद्ध रहेको बताए।

हेटौंडा उपमहानगरपालिकाका वडा नं. १४ का अध्यक्ष दीपक खड्का, भूमि आयोगका पूर्व अध्यक्ष विष्णु दाहाल,  उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद भट्ट, र बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले आफ्नो धारणा राखे। उनीहरूले रियल इस्टेट व्यवसायले मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउने र व्यवस्थित शहरी विकासमा लगानीका लागि हेटौंडा उपयुक्त रहेको बताए।

प्रमुख अतिथि राजेश बानियाँले सरकारी निकायहरूले समयमै निर्णय नगरेका कारण व्यवसायीहरूलाई समस्या भएको र त्यसैबाट महासंघको स्थापना भएको उल्लेख गरे। साथै, हेटौंडामा व्यवस्थित बस्ती विकासको बलियो सम्भावना रहेको र स्थानीय निकायको सहकार्यमा जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए।

कार्यक्रमको अघिल्लो दिन माघ ३ गते बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजना मन्त्री अमन मास्के, हेटौंडाका मेयर मीना लामा, उपमेयर बानियाँ, र महासंघका पदाधिकारीबीच अनौपचारिक अन्तरकृया कार्यक्रम आयोजना गरिएको थियो। मन्त्री मास्केले प्रदेश सरकारले रियल इस्टेट व्यवसाय प्रबर्द्धनका लागि नीति निर्माण र कानून सुधार गर्दै जाने जानकारी दिए।

मेयर मीना लामाले भू-उपयोग ऐनअनुसार जग्गा वर्गीकरणको काम सम्पन्न भइसकेको र रियल इस्टेट विकासका लागि हेटौंडा उपयुक्त रहेको बताइन्। कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष विदुर धमला, उपाध्यक्ष राजकुमार राई, पुरुषोत्तम पौडेल लगायतले सरकारी नीति सकारात्मक भए व्यवसायीहरूले इमानदारीपूर्वक लगानी गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको समापनमा महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले कार्यक्रममा सहभागी सबै अतिथि तथा व्यवसायीहरूप्रति धन्यवाद ज्ञापन गर्दै, महासंघ तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *