काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अहिलेको सरकारले तीनकुनेको जग्गाको मुआब्जाका लागि कुनै प्रक्रिया अघि नबढाएको गुनासो गरेका छन् । शुक्रबार आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले पचासौं वर्षदेखि यहाँका व्यक्तिको जग्गा लुटिएको भन्दै सरकारले कुनै प्रक्रिया अघि नबढाएको जिकिर गरे ।
‘पचासौं वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कमजाेर सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो,’ मेयर बालेनले भने, ‘यसपालि दुईतिहाइको सरकार छ त्यही पनि केही गरेकै छैन । कुनै पनि प्रोसेस भएको छैन । व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । यहाँको मुआब्जा दिनका लागि कुनै प्रक्रिया भएको छैन् । चाँडै होस् भन्ने शुभकामना मात्रै दिनसक्छ ।’
प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री मात्रै नभई स्थानीय सरकारको नेतृत्व गरिरहेको दल पनि सरकारमा हुँदा मुआब्जा विवाद समाधान नभए कहिल्यै पनि नहुने उनको भनाइ थियो ।
‘गृहमन्त्री आफ्नै, प्रधानमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै स्रोतसाधन आफ्नै । हाम्रो त अझ वडा समिति पनि त्यही सरकारको हो,’ मेयर बालेनले भने, ‘अहिले पनि यो काम भएन भने कहिल्यै हुँदैन । आफ्नो स्थानीय सरकारलाई विस्तारै भन्नुहोला । मलाई पनि भन्नुहोला । हाम्रो त उमेरभन्दा पनि बढी भइसक्यो यहाँको जग्गा लुटिएको ।’







