एमालेसँगको सहकार्यप्रति ढुक्क हुन पार्टी पंक्तिलाई देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँगको सहकार्यप्रति ढुक्क रहन पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

शनिबार पार्टीको कोशी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच समझदारी कायमै रहेको र अहिले सत्तासमीकरणमा कुनै परिवर्तन नआउने बताएका हुन् । सभापति देउवाले प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा देशको हितमा महत्वपूर्ण कार्य गरेर आएको बताए ।

ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनाअन्तर्गत अनुदानमात्रै सहमति गरेर आएको सभापति देउवाको दाबी छ । देशको हितमा महत्वपूर्ण समझदारी गरेर आएको भन्दै सभापति देउवाले ओलीलाई धन्यवादसमेत दिए ।

‘ढाँट्ने कुरा छैन। भर्खरै चीनमा गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरेर आउनुभएको छ। उहाँले अनुदान लिएर आउने कुरा गर्नुभयो,’– उनले भने ।

यद्यपि, सभापति देउवाले ओलीलाई हिजोसमेत धन्यवाद दिएका थिए । प्रधानमन्त्री ओलीले राम्रो काम गरिरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *