नेपाल लाइफ इन्स्योरेन्सको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीको खुद नाफा ३०.०६ प्रतिशतले बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको  छ। गत आवको प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७० पैसा रहेको थियो भने सो आम्दानी २ रुपैयाँ ३१ पैसाले बढेर १० रुपैयाँ १ पैसा पुगेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ९९ पैसा छ।

गत आवको असोज मसान्तसम्म कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो भने चालु आवमा २० करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

कम्पनीको जीवन बीमा कोष समेत १९.५४ प्रतिशतले बढेको  छ। गत आवको पहिलो त्रैमाससम्म १ खर्ब ७४ अर्ब ३७ करोड रुपैयाँ रहेको जीवन बीमा कोष बढेर २ खर्ब ८ अर्ब ४४ करोड रुपैयाँभन्दा माथि पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी समेत १४.० प्रतिशतले बढेको छ। कम्पनीको कुल आम्दानी बढेर १७ अर्ब ९७ करोड रुपैयाँ कायम भएकोछ।

त्यस्तै, गत आवको प्रथम त्रैमाससम्म कम्पनीले १० अर्ब ८२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  सो आम्दानी  बढेर  ११ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ छ। कम्पनीको रिटेन्ड अर्निङमा ७१ करोड १९ लाख रुपैयाँ र महाविपत्ति कोषमा १ अर्ब ११ करोड रुपैयाँ सञ्चिती रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *