काठमाडौं । बैकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बिहीबार १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्न लागेको छ । निक्षेपको तुलनामा लगानी विस्तार हुन नसकेपछि बजारमा बढेको मुद्रा प्रवाह नियन्त्रणका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो । बैंकहरुले जेठ मसान्तसम्म करिब १खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।यो कर्जा वृद्धि ४ प्रतिशत मात्रै हो। जबकी नेपाल राष्ट्र बैंकले १२ प्रतिशतको कर्जा वृद्धिको लक्ष्य निर्धारण गरिदिएको थियो। दिइएको सीमाको तुलनामा आधाभन्दा कम अर्थात करिब ४ प्रतिशतले मात्रै कर्जा वृद्धि हुँदा बैंकिङ प्रणालीमा ३खर्ब ५० अर्ब रुपैयाँ लगानीयोग्य पैसा थुप्रिएको छ।
बैंकमा पैसा थुप्रिएको छ भनिएपनि बैंकहरुले अनेक कुरा गरेर ऋण दिन टारिरहेका छन् : व्यवसायी
एकातिर बैंकिङ प्रणालीमा पर्याप्त पैसा भएको भनिएपनि साना तथा मझौला व्यवसायीहरुले भने बैंकबाट कर्जा पाउन नसकेको गुनासो गरिरहेका छन् । राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की भन्छन्–‘अहिले व्यापारीहरुसँग पनि पैसा छैन जाने बैंकमै हो । तर बैंकले लगानी गर्न नचाहेको हो या के हो ? बैंकमा पैसा थुप्रिएको छ भनिएपनि बैंकहरुले अनेक कुरा गरेर ऋण दिन टारिरहेका छन् । ऋण पाउन सकिएको छैन । ऋण नपाउँदा व्यापारका लागि सामान अर्डर गर्न सकिएको छैन ।’अध्यक्ष कार्कीका अनुसार कतिपय होलसेल तथा खुद्रा व्यापारीहरुको व्यापार बन्द गर्नुपर्ने अवस्था छ । किनकि भारत चीन तथा तेस्रो देशबाट सामान आयात गर्दा पहिले एलसी खोल्दा सतप्रतिशत मार्जिन राख्नु पर्दैन थियो,अहिले त्यसमा पनि कडाई छ ।बैंकबाट ऋण लिएर व्यापार गरिरहेका साना तथा मझौला व्यवसायी अहिले हतोत्साही बनेको कार्की बताउँछन् । बैंकमा कर्जाका लागि व्यापारीहरुले आवेदन दिँदा पनि बैंकहरुले ऋण स्विकृत गरिहेका छैनन् ।
उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवं व्यवसायी दीनेशकुमार श्रेष्ठ बैंकबाट सहज ऋण ठूला व्यवसायी एवं उद्योगीले मात्र पाएको साना तथा मझौला व्यापारी उद्योेगीहरु रित्तो हात फर्कनुपर्ने अवस्था रहेको बताउँछन् । उनका अनुसार बैंकहरु अहिलेको बजार मन्दीका कारण पनि पर्ख र हेरको अवस्थामा रहेको अवस्थामा भएकाले ऋण सहजै लगानी गरिरहेका छैनन् ।उनी सरकारप्रति केही आक्रोशित हुँदै भन्छन्– ‘बैंकले व्यवसायीलाई किन लगानी गर्नपर्यो र सरकारले सस्तोमा बैंकसँग ऋण उठाइदिएकै छ नी ।सरकारलाई उद्योग भन्दा चलोस् भन्ने कहाँ छ र ?’‘बैंकले बजार अध्ययन गरेर जोखिम मूल्यांकन गरेर लगानी गर्नपर्ने हो तर हाम्रोमा बैंकहरु पनि मिलेमतोमा चल्छन्।’श्रेष्ठ भन्छन् ।
नेपाल राष्ट्र बैंकमार्फत बैंकहरुले गत सोमबार मात्रै सरकारलाई वार्षिक ६.९३ प्रतिशत ब्याज पाउने गरी ६ वर्षका लागि १० अर्ब कर्जा दिएका छन् । श्रेष्ठले भने जस्तै हो भने पनि व्यवसायीलाई महंगोमा लगाउन मिल्ने कर्जा सस्तोमा बैंकहरुले किन सरकारलाई दिइरहेको छ जवकि पैसा बैंकमा पर्याप्त छ र व्यवसायीहरुले माग गरिरहेका छन् भने ।
बैंकहरुमा जोखिम व्यहोर्ने हिम्मत र निजी क्षेत्रसँग कर्जा लिएर उद्योग व्यवसाय गर्ने आत्मविश्वासको अभाव छ : बैंकिङ विज्ञ
पूर्व बैंकर एवं बैंकिङ विज्ञ अनलराज भट्टराई बैंकबाट ऋण लिन असहजता भएको व्यापारीको भनाईसँग सहमत छैनन् । उनी भन्छन्–‘२१ वटा वाणिज्य बैंक छन्, विकास बैंकहरु छन् फाइनान्स कम्पनीहरु छन् । बैंकले नपत्याए अन्य वित्तीय संस्थाले कर्जा दिन्छन् विकल्प नभएको होइन बरु बैंकहरुले बजारमा उपभोक्ताको माग नभएको बजार विश्लेषणका आधारमा लगानी नबढाएको हुन सक्छ । कर्जा लगानी आधा बढीले घटेको पक्कै हो।’
अर्को तर्फ बैंकिङ प्रणालीमा लगानीयोग्य रकम हुँदाहुँदै पनि कर्जा परिचालन नहुनुमा बैंकहरुमा आत्मविश्वासको अभाव पनि एक हो । भट्टराईका अनुसार यतिखेर सर्वाधिक मानिसहरुको चहलपहल हुने बजार न्यूरोड असन दरवारमार्गमा समेत ३ बज्दा समेत बोहनी हुन नसकेको व्यापारीहरुले बताइरहेका छन् । अहिलेकै अवस्थामा निजी क्षेत्रसँग कर्जा लिएर उद्योग व्यवसाय गर्ने आत्मविश्वास देखिन्न। अर्कोतर्फ बैंकहरुमा पनि नयाँ कर्जा दिँदा के होला भन्ने आशंका कायमै छ । ‘बैंकिंङ प्रणालीमा लगानीयोग्य रकम प्रशस्त भए पनि आत्मविश्वासको अभावले कर्जाको माग नहुँदा अर्थतन्त्र चलायमान नभएको हो, यसको विकल्प अहिलेको सरकारले नै दिनुपर्छ’ उनी भन्छन् ।
‘पर्ख र हेर’ को अवस्थामा बैंकिङ क्षेत्र : अर्थविद्
अर्थविद्हरु उपभोग्य बजारमा आएको मन्दी,निजी क्षेत्र ‘पर्ख र हेर’ को अवस्थामा रहनु ,वस्तु तथा सेवाको मागमा कमी हुनु त्यस्तै उत्पादनमा ह्रास आउनु र आर्थिक वस्तुस्थिति ((आन्तरिक र बाह्य)मा पनि सिथिलता आउनुले समग्र कर्जा लगानीमा ह्रास आएको बताउँछन् । तथापी व्यवसायीहरुको माग र बैंकहरुको आपूर्तिबीच तादम्यता मिलाउन सरकार या राष्ट्र बैंकले सहजिकरण गरिदिनपर्नेमा अर्थविद्हरुको जोड छ । राष्ट्र बैंकले लिएका केही नीतिगत व्यवस्थाका कारणले पनि बजारमा कर्जा परिचालन हुन नसकेको बैंकर तथा अर्थविद्हरु बताउँछन् ।
त्यस्तै वर्किङ्ग क्यापिटल गाइडलाइन चालु पूँजी निर्देशिकाको कडा मापदण्डका कारण पनि बजारमा कर्जाको माग सम्बोधन हुननसकेको कतिपय जानकारहरुको भनाई छ । मापदण्डभन्दा फरक तरिकाले चालु पूँजी कर्जा लिएकाले त्यसको सेटलमेन्ट गर्नुपर्ने र नयाँ लिनलाई पनि पूर्ण रुपमा मापदण्ड पालना गर्नुपर्ने भएकाले कर्जाको उचित व्यवस्थापन गर्न नसकिएको बैंकरहरु बताउँछन् । नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले जारी गरेको जुलाई २०२२ को प्रतिवेदनमा पनि चालूपूँँजी कर्जा सहीरुपमा प्रवाह नभएको र यस्तो कर्जा सहीरुपमा सदुपयोग पनि नभएको उल्लेख छ।
नीतिगत व्यवस्थाका कारण सोचे अनुरुप बैंकहरुले लगानी बढाउन सकेका छैनन्
यससँगै पर्याप्त पूँजी अनुपातका कारणले केही बैंकहरु चाहेर पनि कर्जा परिचालन गर्न नसक्ने अवस्थामा पुग्दा प्रणालीमा पैसा हुँदा पनि कर्जा प्रवाह हुन नसकेको बैंकर अनलराज भट्टराई बताउँछन् ।उनका अनुसार केही नीतिगत व्यवस्थाका कारण पनि सोचे अनुरुप बैंकहरुले लगानी बढाउन सकेका छैनन् । यद्यपी त्यसो भन्दा जीडीपीको तुलना गरेर हेर्ने हो भने कर्जा लगानकिो अनुपात निकै बढी छ । जस्तो २०२०देखि हालसम्म कर्जा लगानी ५० प्रतिशतले बढेको छ जवकि कूल गार्हस्थ्य उत्पादन भने १० प्रतिशतले पनि बढेको छैन ।
राष्ट्र बैंकले तोकिदिएको पर्याप्त पूँजी अनुपात कायम गर्नुपर्ने बाध्यताले पनि केही बैंकहरु चाहेर पनि कर्जा परिचालन गर्न नसक्ने केहीमा सिडी रेसियो पनि सहज छ तर पर्याप्त पूँजी अनुपातका कारण कर्जा परिचालन गर्न नसकेको देखिन्छ । नेपाल राष्ट्र बैंकले कमर्शियल बैंकका लागि पर्याप्त पूँजी अनुपात ११ प्रतिशत तोकेको छ। अहिले यस्तो अनुपात औषतमा १३.५३ प्रतिशत रहेको छ।।







