फुटपाथमै बनायो कामनपा ३१ ले संरचना, होला त कारबाही ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम विपरीत बनेका संरचना भत्काइरहको छ। पछिल्लो समय विकास गर्दा समस्या हुने गरी बनाएका, यात्रुलाई असर हुने खालका, बाटो मिचेर बनाएका भौतिक निर्माणका संरचना काठमाडौं महानगरपालिकाले नियमित रुपमा भत्काइरहेको छ ।

काठमाडौंका मेयर बालेन्द्र शाहले यो एक वर्षमा थुप्रै अनधिकृत संरचनाहरुमा डोजर चलाएका छन् । उनले नियमविपरित बनेका धेरैका घर नै भत्काइदिएका पनि छन् । कतिपय सरकारी संरचनाले हस्तक्षेप गरेर बनाएका संरचना समेत भत्काएर महानगरपालिकाले विकासलाई पर्यावरणमैत्री र नागरिकको आवश्यकताअनुसार बनाइरहेको छ ।

नीतिनियम विपरीत, कानून प्रतिकूल देखिने यस्ता संरचनाहरु भत्काउन अब्बल देखिएको काठमाडौं महानगरपालिकाले आफ्नै वडाका अध्यक्षलाई फुटपाथनै मिचेर गेट बनाउनु हुन्न बन्ने चाहिँ सिकाउन भ्याएको रहेनछ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष सरोज ढकालले महानगरकै नीति विपरीत संसद भवन पछाडि एक साँधुरो बाटोमा लाखौं रुपैयाँ खर्च गरेर एक गेट निर्माण गर्न लगाएका छन् ।

फुटपाथमै गेट निर्माण गरेपछि नागरिकहरु हिँड्ने फुटपाथ छेकिएको देखिन्छ । उक्त स्थानमा माथि पनि ट्रान्समिशनसहितको विद्युत लाइनलाई गेटले छुने गरी निर्माण गरिएको छ । साँधुरो गल्लीमा लाखौं खर्च गरेर त्यसमा पनि सर्वसाधारण हिड्ने बाटोनै बन्द गरि उक्त गेट निर्माण गर्नुको कुनै औचित्य र आवश्यकता देखिदैन । तर काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष ढकाल भने गेट सहि ठाउँमा नागरिकको चाहनाअनुसार निर्माण भएको दाबी गर्छन । उनी भन्छन्, ‘ बाटो मिचेको छैन । स्थानीय जनातको पहिचानको लागि भनेर गेट बनाएको हो । बीआइसीसीको पछाडी । १०/११ वर्षदेखि त्यहाँ हिलो धुलो थियो । एकता मार्ग र देउराली मार्ग जाने भएकाले मान्छेलाई हिँडडुल गर्न हुने गरी ‘डिस्टर्ब’नहुने गरी बनाउन लगाएको छु ।’

‘गेट त बटुवा हिड्ने बाटोनै छेकिने गरी निर्माण भएको छ नि ?’ भन्ने हाम्रो  प्रश्नमा उनले आफ्नो कामको त्यहाँका स्थानीय सबै नागरिकले तारिफ गरेको दाबी गरे । तर स्थानीय नागरिकहरुले समेत आफ्नो नाम नखुलाउने सर्तमा आफ्नो वडामा आएको बजेट जसरी पनि सक्नुपर्छ भन्ने हिसावले बिना उपयोगिता गेट निर्माणमा वडा अध्यक्षले अनावश्यक खर्च गरेको बताएका छन् । उनीहरुले बाटोमा हिँड्ने अपाङ्गलाई पनि त्यहाँ डिँड्दा समस्या हुने बताएका छन् । त्यसो त उक्त स्थानमा दृष्टिबिहीन तथा अपाङ्गता भएका नागरिकलाई हिँड्न समेत असहज हुने प्रष्टै देखिन्छ ।

यता वडा अध्यक्ष ढकालले भने आफू बिहान बेलुका त्यहीँबाट हिँड्ने गरेको र यसले कुनै ‘डिस्टर्ब’नहुने जिकिर गरे । उनले स्थानीय नागरिकले माग गरेअनुसार आफूले गेट निर्माण गरिदिएको बताए । उक्त सडक भित्रपट्टी रङ्ग रोगन गरेर राम्रो बनाइएको छ । जसका करण स्थानीय जनता खुसी भएपनि जनताले भने सास्ती भोगीरहेका छन् । सार्वजनिक बाटो त्यसमा पनि फुटपाथमै अनावश्यक ठाउँमा गेट निर्माण गरेको विषयमा भने कतिपय स्थानीय नागरिकले वडाअध्यक्षले सस्तो लोकप्रियताको लागि पैसाको दुरुपयोग गरेको र महानगरको नियमविपरित काम गरेको गुनासो ब्यक्त गरेका छन् । अनधिकृत रुपमा फुटपाथमै बनाईएको उक्त गेटका कारण बाटो हिड्ने सर्वसाधारण नागरिकलाई भने बाटो हिँड्न कठिन भएको छ ।

एकातर्फ काठमाडौं महानगरपालिकाको नीतिअनधिकृत संरचनना भत्काउने रहेको देखिन्छ भने अर्कोतर्फ सोहि मातहतका वडाले  पावर र पैसाको दुरुपयोग गर्दै अनधिकृत संरचना निर्माण गरिरहनुले यी दुईबीचको काममा तालमेल नरहेको देखिन्छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *