आलु, प्याज र फलफूलमा भ्याट लगाउनु अत्यन्त गम्भीर : शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले आलु, प्याज र नेपालमा उत्पादित फलफूलमाथि लगाएको करमाथि आपत्ति जनाएका छन्।

शनिवार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमिति सम्मेलनमा बोल्दै कोइरालाले सरकारमा बसेर आफ्नै विरोध गर्न नहुने वास्तविकताले बोल्न नपाएको उल्लेख गर्दै पार्टी सभापतिलाई भ्याटको विषयमा धारणा बनाउनुपर्ने बताएका हुन् ।

‘सत्ता पक्षको भएको हुँदा संसदमा बोल्न अप्ठ्यारो लाग्छ, विरोध कसरी गर्ने ? संसदीय व्यवस्थाको मापद्दण्डहरुलाई पक्रेर हिँड्नुपर्ने हुन्छ, सत्तापक्षले विरोध गरेर फाइदा छैन,सत्ता पक्ष भएपछि त्यही गाह्रो हुन्छ ।’उनले भने,

उनले सभापति देउवालाई यो विषयमा बुझ्नुपर्ने बताउँदै थपे, ‘पार्टी सभापति यही हुनुहुन्छ,त्यसैले पनि बोल्नुपर्छ, नेपालमा आलु, प्याज र फलफूल जस्तो कुरामा भ्याट लगाउँदा हामीहरूले यसलाई कसरी लिने ? अत्यन्त गम्भीर कुरा छ यो ।’

त्यस्तै उनले तीनै तहको अदालतको दोषी ठहर गरेको रेशम चौधरीलाई राष्ट्रपतिले आम माफी दिएको प्रति प्रश्न उठाएका छन् । उनले भने,‘अदालत,उच्च अदालत,र सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिले मसी सुक्नै नपाउँदै माफी दिनुभयो । हामीजस्ताले त्यसलाई कसरी हेर्ने? यी कुराहरू भोलिका दिनमा अत्यन्त गम्भीर हुन्छन्’ सरकार टिकाउन यस्ता कुरा गर्दा लोकतन्त्र कमजोर हुन्छ भन्ने बुझ्न जरुरी छ ।’
कोइरालाले यस्ता संबेदनशील बिषयमा पार्टीले आफ्नो छुट्टै धारणा बनाउनुपर्ने जिकिर गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *