इटहरी। एभरेस्ट बैंकको सुनसरीको इटहरी शाखाबाट ग्राहकको डेढ करोड रुपैयाँभन्दा बढी रकम झिकेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेस्ट बैंक इटहरीका शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्यसहित ७ जना कर्मचारी र अन्य २ जना गरी ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
एभरेस्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम झिकेको पाइएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैंकको गाईघाट शाखाका अपरेसन इन्चार्ज विराटनगरका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ वर्षीय धावा लामा, कनिष्ठ सहायकहरू भोजपुर षडानन्द नगरपालिका–९ का २७ वर्षीय मनोज घिमिरे, इटहरी–७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ वर्षीय रन्जित पण्डित र इटहरी–२ की ३० वर्षीया टेलर पवित्रा कटवाल छन् ।
ठगी गर्ने गिरोहमा संलग्न धनुषाका शंकर भुजेल र भक्तपुर सूर्यविनायकका अजय खिउजुलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रधानलाई प्रहरीले गत चैत्र २२ गते पक्राउ गरेको थियो भने भुजेललाई वैशाख १० र खिउजुलाई बैशाख १३ गते प्रहरीले पक्राउ गरेको हो । अन्यलाई जेठ ५ गते शुक्रबार पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार बैंकका कर्मचारीले बैंकको कम्प्युटर आईडी पासवर्ड दुरुपयोग गरी कनेक्ट–आईपीएसमार्फत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैंकका विभिन्न ग्राहकको १ करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम झिकेर हिनामिना गरेका छन् ।
अनुसन्धानबाट बैंकिङ सिस्टम दुरुपयोग गरी ग्राहकको निष्क्रिय खातालाई सक्रिय गराई ३५ लाख ४८ हजार एक सय ५० रुपैयाँ हिनामिना गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका कर्मचारीसहित सबैलाई बैंकिङ कसुर र संगठित अपराध निवारण ऐन २०७० अनुसारको कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।






