बिराटनगर । खेलकुद विकास बोर्डकाका सदस्य सचिव हंशराज वाग्लेको पद यथावत रहने भएको छ । उच्च अदालतले बाग्लेलाई हटाउने निर्णय तत्काल कार्यन्वयन नगर्न कोशी प्रदेश सरकारलाई अन्तरिम आदेश दिएसँगै उनको पद तत्काल नजाने भएको हो ।
गत बुधबार कोशी सरकारले उनलाई बर्खास्त गर्ने निर्णय गरेकोमा वाग्लेले उक्त निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। न्यायाधीश कमलकृष्ण अधिकारीको एकल इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा आयोजकको रूपमा कोशी प्रदेशको नाम उल्लेख नगरेकोमा सामाजिक विकास मन्त्रालयले पहिलो पटक वैशाख १७ गते र दोस्रो पटक बैशाख २७ गते गरी दुई दुई पटक स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरणमा उनको जवाफ चित्त नबुझेको भन्दै गत बुधवार उनलाई मन्त्रीपरिषदले बर्खास्त गर्ने निर्णय गरेको थियो । हाल उच्च अदालतको आदेश बमोजिम उनको पद यथावत रहने भएको छ ।
अर्थ सन्जाल