आठ जना आरोहीले गरे धौलागिरी हिमालको सफल आरोहण

म्याग्दी । म्याग्दीमा रहेको संसारकै सातौं अग्लो धौलागिरि हिमाल आठ जनाले आरोहण गरेका छन्। बुधबार धौलागिरि हिमालमा सेभेन समिट ट्रेक्सका पाँच जना र पाइएर एडभेन्चरमार्फत तीन जनाले आरोहण गरेका हुन् ।

पर्यटन विभागबाट यस वर्ष धौलागिरि आरोहणका लागि ११ जना महिलासहित ३५ जनाले अनुमति लिएका थिए। सेभेन समिट ट्रेक्समार्फत नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जीतेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा र जाङव्बु शेर्पाले आज बिहान धौलागिरि हिमालको सफल आरोहण गरेका हुन्।

पायनियर एडभेन्चरले आफ्नो कम्पनीमार्फत सतीश रवीन्द्र गोगिनेनी, पासाङ शेर्पा र दावा दोर्ची शेर्पाले धौलागिरिको चुचुरोमा पुगेका जनाएको छ।

धौलागिरिमा यो सिजनको पहिलो आरोहण जेठ १ गते बिहान ७:०० बजे पोल्याण्डका आरोहीद्वय वार्टेक जिम्सी र ओसवाल्ड रोड्रियोले गरेका आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईले बताए।

आरोहणबाट फर्केपछि वार्टेकले चार हजार सात सय मिटर उचाइको वेस क्याम्पमा स्कीसमेत खेलेका थिए । धौलागिरि प्रथम हिमालको चुचुरो चुम्ने स्पेनी ८४ वर्षीय ज्येष्ठ पर्वतारोही कार्लोस सोरिया फोन्टेनको सपना अधुरै रहने भएको छ।

बुधबार बिहान धौलागिरि हिमालको तेस्रो शिविरबाट चुचुरोमा पुग्न उक्लने क्रममा कार्लोस अचानक दुर्घटनामा परी घाइते भएपछि उनको धौलागिरिको चुचुरोमा पाइला राख्ने १४ औँ प्रयास असफल बनेको हो।

दुर्घटनामा परेका कार्लोसलाई शेर्पाहरुको सहयोगमा क्याम्प तीनमा झारिएको थियो। कार्लोसको फेसबुक पेज अनुसार बधुबार राति धौलागिरि चुचुरोमा पुग्ने क्रममा दुर्घटनामा परी टिबियामा चोट लागेको र शेर्पाहरुले उद्धार गरी क्याम्प तीनमा झारेको तथा होलिकप्टरबाट उद्धार प्रयास भइरहेको उल्लेख छ। रासस

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *