शिव शिखर सहकारीका सञ्चालकसहित तीन जना पक्राउ

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारी सञ्चालक सञ्चालकहरु पुष्कर मल्ल र अनिश राज भण्डारी र सहकारीका सञ्चालक केदारनाथ शर्माकी श्रीमती गीता शर्मालाई पक्राउ गरेको छ । गीता शर्मा शिव शिखर सहकारी संस्थाको मुख्य साझेदारी रहेको शिखर अर्गनाइजेसन प्रालिकी निर्देशक हुन् ।

सहकारी संस्थाका सदस्यहरुलाई आर्कषक ब्याजको प्रलोभन देखाई बचत, मुद्दती निक्षेप तथा सेयरमा समेत रकम जम्मा गर्न लगाई बचत गरेको रकम तथा मुद्दती खातमा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरी निक्षेप रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय कंचनपुर पुगेका छन् । जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको विषयमा जाहेरी दरखास्त पेश गर्न बचतकर्तालाई सार्वजनिक रुपमै आह्वान गरेपछि उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । मङ्गलबार र बुधबार गरी सात सय ३७ बचतकर्ताले प्रहरीमा सम्बन्धित कागजात बुझाएका छन्।

प्रहरीका अनुसार उक्त सहकारीले महेन्द्रनगर शाखाबाट मात्रै रु २६ करोड निक्षेप सङ्कलन गरेको देखिएको छ । सीआईबीले उक्त सहकारी संस्थाको विभिन्न जिल्लाहरुमा रहेका शाखाहरुबाट पिडित भएका निक्षेपकर्ताहरुले सम्बन्धित शाखा कार्यालयहरु रहेका जिल्ला प्रहरी कार्यालयहरुमा सम्पर्क गर्न र भक्तपुर जिल्लाका जाहेरी दिन बाँकी पिडितहरुले ब्यूरोमा यथाशिघ्र जाहेरी दिन भनेको छ ।

बचतकर्ताको १२ अर्ब रुपैयाँ ठगेर भागेका शिखर अर्गनाईजेशनका निर्देशक तथा तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा अहिले फरार रहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *