काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पनि पक्राउ परेका छन् । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहले समितिको गाडी प्रयोग गरेको पाइएको पछि अध्यक्ष मियाँको पनि संलग्तना रहेको खुलेको हो ।
गृह मन्त्रालयको स्वामित्वमा भएको बि.ए.बी–१४०५ नम्बरको निशान पेट्रोल जिप प्रहरीले बरामद गरेको छ । पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरू सो गाडीमा जाने गरेका थिए ।
चितवनको सौराहा र काठमाडौंका सुन्धारा लगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरूले सो गाडी प्रयोग गरेको अनुसन्धानबाट थाहा भएको छ । इम्बोस्ड नम्बर बिएबी–१४०५ नम्बरको सो जिप गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा छ ।
मियाँसँगै नक्कली शरणार्थी प्ररकणमा पक्राउ पर्ने अभियुक्तको संख्या १५ पुगेको छ । पक्राउ पुर्जी जारी भएर पनि अझै दुृई जना पक्राउ पर्न सकेका छैनन् । जसमा पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र बादल गृहमन्त्री रहेकै बेला सुरक्षा सल्लाकार रहेका ईन्द्रजित राईको छोरा नीरज रहेका छन् ।
अर्थ सन्जाल