एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अवधिसम्म बैंकको नाफामा झिनो वृद्धि देखिएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको खुद नाफा ०.६५ प्रतिशत बढेर २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४७ प्रतिशत बढेर ६ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफामा दबाब पुगेको हो।
यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २६.८२ प्रतिशत बढेर ८ अर्ब ६ करोड ४१ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट बढेर २.९६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब १८ करोड पुगेको छ।
बैंकको सञ्चालन मुनाफा १.१९ प्रतिशतले मात्र वृद्धि भएको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८८ लाख रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि थोरै बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ पैसा बढेर १९ रुपैयाँ ४७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.०७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ २ पैसा रहेको छ।
चुक्ता पूँजी १८ अर्ब ३६ करोड रहेको छ यस बैंकको जगेडा कोषमा ९ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ।








