तेस्रो त्रैमासमा बैंकहरुको खराब कर्जा बढ्यो, कुन बैंकको कति ?

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । तेस्रो त्रैमासमा अधिकांश बैंकहरुको खराब कर्जा बढेको छ ।

बजारमा बैंकको खराब ५ प्रतिशतसम्म पुग्छ भनेर हल्ला फैलिएको भएपनि बैंकहरुको औसत खराब कर्जा ३.०३ प्रतिशतमा सीमित रहेको छ । यदपि बैंकको खराब कर्जा भने चालु आर्थिक वर्षको चैत मसान्तसम्म वृद्धि भएको छ । गत आवको सोही अवधिमा १.२२ प्रतिशत रहेको थियो ।

चैत मसान्तसम्म हिमालयन बैंकको खराब कर्जा सबैभन्दा धेरै रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन बैंकको खराब कर्जा ४.५६ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा हिमालयन बैंकको खराब कर्जा ०.९९ प्रतिशतमा सीमित थियो ।

कृषि विकास बैंकको खराब कर्जा पनि ४.३५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष बैंकको खराब कर्जा २.३२ प्रतिशतमा सीमित थियो । यो आर्थिक वर्षमा बैंकको खराब कर्जा दोब्बरले बढेको हो ।

नेपाल बैंकको खराब कर्जा पनि ४ प्रतिशत नाघेको छ । तेस्रो त्रैमाससम्म नेपाल बैंकको खराब कर्जा ४.१६ प्रतिशत पुगेको छ ।

यस्तै, गत आर्थिक वर्षमा १.७२ प्रतिशतमा सीमित रहेको यस वर्ष सिटिजन्स बैंकको ३.९८ प्रतिशत पुगेको छ ।

यस आर्थिक वर्षको चैतसम्म कुमारी बैंकको ३.९७ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कुमारीको खराब कर्जा ०.९६ प्रतिशतमा सीमित थियो ।

तेस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको खराब कर्जा १.५ प्रतिशतबाट बढेर ३.९६ प्रतिशत पुगेको छ ।

सिद्धार्थ बैंकको खराब कर्जा पनि १.१२ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एनपीएल पनि ३.९४ प्रतिशत  पुगेको छ । अघिल्लो आर्थिक वर्षको चैतसम्म बैंकको ६यस्तो कर्जा २.२ प्रतिशतमा सीमित थियो ।

राष्ट्रिय वाणिज्य बैंकको ३.८८ प्रतिशत खराब कर्जा पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३.०७ प्रतिशत थियो । यो बैंकको खराब कर्जामा सामान्य वृद्धि भएको हो ।

त्यसैगरी, नबिल बैंकको खराब कर्जा पनि ३ प्रतिशतभन्दा माथि नै पुगेको छ । नबिल बैंकको खराब कर्जा १.१४ प्रतिशतबाट बढेर ३.८७ प्रतिशत पुगेको बैंकको त्रैमासिक रिपोर्टले देखाएको छ ।

सनराइज बैंकको, ३.६२ प्रतिशत, प्रभुको ३.४८ प्रतिशत र प्राइम बैंकको ३.०६ प्रतिशत रहेको छ ।

एनएमबि बैंकको खराब कर्जा २.९६ प्रतिशत, माछापुच्छ्रे बैंकको २.३७ प्रतिशत र सानिमा बैंकको २.२७ प्रतिशत रहेको छ ।

अन्य बैंकको खराब कर्जा भने २ प्रतिशतभन्दा तल रहेको छ । लक्ष्मी बैंकको १.८२ प्रतिशत, नेपाल एसबिआई बैंकको ०.९७ प्रतिशत, स्ट्यान्डर्ड चाटर्ड बैंकको ०.९० प्रतिशत, एनआईसी एशिया बैंकको ०.८५ र सबभन्दा कम एभरेष्ट बैंकको ०.७० प्रतिशत रहेको छ ।

खराब कर्जा के हो ?

बैंक तथा वित्तीय संस्थाले निश्चित समयका लागि भनेर कुनै ऋणी ऋण प्रदान गरेको हुन्छ । तोकिएको समयमा कर्जा उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जा भनिन्छ । यसलाई नन पर्फमिङ लोन अर्थात् एनपिएल पनि भनिन्छ ।

ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछि सम्म पनि बैंकले आफूले दिएको ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जा अन्तर्गत राखिन्छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *