काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेपालको अर्थमन्त्री बनेका छन् । सत्तारुढ दलहरुबीचको लामो समयको खिचातानी पछि कांग्रेसका प्रवक्तासमेत रहेका डा. महत अन्ततः पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको अर्थमन्त्री बनेका छन्।
पूर्वमन्त्रीसमेत रहेका डा. महतले पछिल्लो समयमा धारासायी बनेको मुलुकको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने हिम्मत गरेका छन् । महतले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिए लगत्तै सिंहदरबारस्थित कार्यालयमा गएर पदभार समेत ग्रहण गरिसकेका छन्। यो संगै लामो समयदेखि नेतृत्वबिहिन बनेको अर्थमन्त्रालयले पूर्णता पाएको छ।
को हुन् महत ?
२०१६ साल कात्तिक १८ गते नुवाकोटको कविलासमा जन्मिएका डा. महत विद्यार्थी राजनीतिबाट उदाएका एक इमान्दार छवि भएका व्यक्ति हुन् । २०२७ देखि विद्यार्थी राजनीतिमा सक्रिय भएर आफ्नो राजनीतिक जीवनको सुरुवात गरेका महतले २०४० देखि ०४४ सम्म नेपाल विद्यार्थी संघको महासचिवको जिम्मेवारी सम्हाले । २०५९ मा पार्टीको महासचिव पदमा चुनाव हारेपछि महतले २०७८ सम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्यको रूपमा काम गरे । महतले लोकतान्त्रिक आन्दोलन, द्वन्द्व समाधान र देशको शान्ति प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै समावेशी आर्थिक विकासको एजेन्डालाई अगाडि बढाउँदै आएका छन्। नवनियुक्त अर्थमन्त्री डा. महत कांग्रेस सभापति शेरबहादुर देउवाका निकट मानिन्छन् । उनी पूर्वअर्थमन्त्री डा. रामशरण महतका भाइ समेत हुन् ।
आर्थिक क्षेत्रमा विज्ञता हासिल
डा. महत अर्थ क्षेत्र बुझेका बिज्ञ व्यक्तिमा चिनिन्छन् । उनलाई मुलुकको बिग्रदो अर्थतन्त्र सुधारका निमित्त आवस्यक एक सक्षम व्यक्तिका रुपमा विश्वास गरिएको आम सर्वसाधारणको समेत बुझाई छ ।
अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका महत यस अघी दुई पटक मन्त्री र एक पटक राज्यमन्त्री समेत भइसकेका छन् ।अर्थ मन्त्रालयको जिम्मेवारी भने उनले पहिलो पटक सम्हालेका हुन् ।
अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउदर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका डा. महतले त्यही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसी इकोनोमिक्स) मा समेत स्नातकोत्तर गरेका छन् ।
कुटनैतिक सम्बन्धद्वारा भारतसँग बिग्रिएको सम्बन्धमा सुधार
डा. महत २०६६ मा ऊर्जा मंत्री बनेका थिए । त्यसपछि उनी २०७३ मा परराष्ट्रमन्त्री बने । परराष्ट्र मन्त्रालय सम्हाल्दै गर्दा डा.महतले भरत, चीन, अमेरिका, युरोपसहितका देशहरूसँग राम्रो कुटनैतिक सम्बन्ध स्थापित गर्न सफल भए । जसका कारण उनी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिर – परिचित व्यक्तिका रुपमा चिनिएका छन् ।
तत्कालीन समयमा डा. महतले भारतसँग बिग्रिएको सम्बन्धलाई सुधार गरेका थिए । उनले भारतको भ्रमण गरेपछि भारतबाट खुलेर आपूर्ति व्यवस्था सुचारु भएको थियो । तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि नेपाल भ्रमणमा आएकी थिइन् । उनको कार्यकालमा नेपालमा भारतीय सहयोगमा सञ्चालित परियोजना सुचारु भएका थिए । डा.महत परराष्ट्रमन्त्री भएकै बेला चीन सरकारले प्रस्ताव गरेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई)लाई नेपालको हितअनुकूल हुने गरी कार्यान्वयनमा ल्याउने सम्झौतामा हस्ताक्षर पनि भएको थियो ।
स्वदेशी लगानीमा राष्ट्रिय गौरवका आयोजना सम्पन्न
डा.महत २०६६ देखि २०६७ सम्म ऊर्जामन्त्री बनेका समयमा ऊर्जा क्षेत्रमा उल्लेखख्य कामहरु भएका छन् । उनले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने निर्णय गरेका थिए भने उनकै कार्यकालमा नेपाल–भारत अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्ने निर्णय भएको थियो ।
ढल्केबर–मुजफफ्पुर ४ सय केभी प्रशारण लाइन निर्माणले नेपालको लोडसेडिङ अन्त्य गर्नमा महत्वपूर्ण सहायोग पुगेको थियो । माओवादीको सशस्त्र विद्रोह उत्कर्षमा पुगेका बेला सन् १९९९ मा सरकारले गठन गरेको माओवादी समस्या समाधान समिति सदस्य सचिवको जिम्मेवारी निर्वाह गरिसकेका डा. महतलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २००१ सेप्टेम्बरदेखि २००२ मेसम्म सल्लाहकार नियुक्त गरेका थिए ।
नवनियुक्त अर्थमन्त्री महत विक्रम संवत २०५८ चैतदेखि २०५९ असोजसम्म राष्ट्रिय योजना आयोगको सदस्य बने । विक्रम संवत् २०६३ देखि २०६४ सम्म माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेपछि डा. महतलाई २०६४ साउनदेखि २०६४ फागुनसम्म विभिन्न विद्रोही समूहसँग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्य बनाइयो ।
पछिल्लो समयमा सत्ताको खिचातानीमा जकडीएको राजनीतिक अस्थिरताका कारण आर्थिक विकास र समृद्धि थिलोथिलो भएको छ । संकटग्रस्त अर्थतन्त्र उकास्न, खस्किदो अर्थतन्त्रको सुधार गर्दै आर्थिक क्षेत्रमा देखिएका गम्भीर समस्याका समाधानका निमित्त महतको कार्यकाल निकै अर्थ र चुनौतिपूर्ण हुने देखिन्छ।
यद्यपी महतको कार्यकालमा समस्याग्रस्त अवस्थाको अर्थतन्त्रमा सकारात्मक सुधार हुने विज्ञहरुको दावी छ। संकटउन्मुख मन्त्रालय सम्हाल्ने हिम्मत गरेका महतले आफ्नो काम र कार्यक्षमता कसरी प्रस्तुत गर्छन त्यो भने हेर्न बाकी छ।







