बैंकका सीईओहरु वर्षेनी बुझ्छन् करोडौँ तलबभत्ता : चर्को ब्याजदरको चपेटामा ऋणी

देशको अर्थतन्त्र अहिले सोचेको र देखिएको जस्तो सहज छैन । विज्ञहरु नै देशको अर्थतन्त्र जटिल मोडतर्फ धकिलिएको बताइरहेका छन् ।

आम नागरिक आर्थिक मन्दीको चपेटामा छन् । बैंकको महंगो ब्याजदरको चपेटामा ऋणी तथा व्यवसायी छन् । कोरोना महामारीका कारण शिथिल उद्योग व्यवसाय फस्टाउन नपाउँदै बैंक तथा वित्तीय संस्थाको ब्याज पनि महँगिएपछि व्यवसायीहरू थलिएका छन्। बैंकको ब्याजदर बढ्दा व्यवसायीहरु ऋण तिर्न नसक्ने अवस्थामा छन् । बैंकको खराब कर्जा पनि उतिकै बढेको छ ।

पत्रपत्रिकामा लिलामीको सूचना दिनहुँ आउन थालेका छन् । कालोसूचीमा पर्ने ऋणीको संख्या बढिरहेका छन् । त्यति मात्र होइन ऋणको बोझ सहन नसकेर ऋणीहरुले आत्महत्याको बाटो रोज्न थालेका छन् ।

सीईओ बुझ्छन् वर्षेनी करोडौँ तलबभत्ता

बैंकको जागिरलाई उसै पनि आकर्षण मानिन्छ ।  बैंकर बन्ने हुटहुटी धेरैले पालेका हुन्छन् ।  आकर्षण तलब भत्ता पाइने र सेवासुविधा पनि उपभोग गर्न पाउने हुँदा बैंकको जागिरमा युवापुस्ताको आकर्षण बढी छ । त्यसमा पनि बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओहरुले वर्षेनी करोडौँको तलब भत्ता लिने गरेका छन् । उनीहरु मासिक लाखौं तलब बुझ्छन् । तलबको अलावा पनि उनीहरुलाई बैंकले आकर्षण भत्ता पनि दिएको हुन्छ  ।

२३ वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा सीईओको तलब भत्तामा ४९ करोड १२ लाख ५ हजार ६२० रुपैयाँ खर्च गरेका छन् ।

गत आर्थिक वर्ष २०७८/८९ मा प्रभु बैंकले प्रमुख कार्यकारी अधिकृतलाई सबैभन्दा धेरै तलब भत्ता दिएको छ ।  प्रभु बैंकका सीईओ अशोक शेरचनले गत आर्थिक वर्षमा तलबभत्तावापत ४ करोड ३ लाख २० हजार रुपैयाँ बुझेका छन् ।

त्यस्तै, कुमारीले बैंकले सीईओलाई गत आर्थिक वर्षमा तलबभत्तावापत ३ करोड ९९ लाख १५ हजार रुपैयाँ दिएको छ  । बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई २०७८ साउन १ देखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको थियो । बैंकले २०७९ वैशाख १४ गतेदेखि ४ वर्षे कार्यकालको लागि खनाललाई सीईओमा नियुक्त गरेको हो । उक्त तलबभत्ता तिमिल्सिना र खनाललाई प्रदान गरिएको बैंकले जनाएको छ  ।

त्यसैगरी, स्टयान्डर्ड चार्टर्ड बैंकले सीईओ अनिरभ घोष देशारलाई गत आर्थिक वर्षमा ३ करोड २१ लाख ९४ हजार ५७५ रुपैयाँ तलब, भत्ता दिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले सीईओ ज्योति पाण्डेलाई गत आर्थिक वर्ष ३ करोड ६ लाख ३४ हजार रुपैयाँ तलबभत्ता बापत दिएको छ ।

ग्लोबल आइएमई बैंकले सीईओ रत्नराज बज्राचार्यलाई तलबभत्तावापत  २ करोड ८ लाख ५८ हजार ४९१ रुपैयाँ दिएको छ ।

हिमालयन बैंकले सीईओ अशोक राणालाई २ करोड १५ लाख १६ हजार ३३३ रुपैयाँ तलब भत्ता दिएको छ ।

मेगा बैंकले गत आर्थिक वर्षमा सीईओलाई २ करोड ९४ लाख ९१ हजार ६२५ रुपैयाँ तलबभत्ता भुक्तानी गरेको छ ।

बैंकको निवर्तमान सीईओ अनुपमा खुञ्जेली र रवीना देशराज श्रेष्ठलाई तलबभत्ता वापत उक्त रकम प्रदान गरेको हो ।

खुञ्जेलीले ४ वर्षे कार्यकाल सकेर गत बैशाख १ गते बैंक छोडेकी थिइन् । बैशाख २ गतेबाट लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो ।

नबिल बैंकले सीईओ अनिल शाहलाई २ करोड ८३ लाख ४४ हजार २६० रुपैयाँ तलब भत्ता दिएको छ ।

यस्तै, एनआईसी एशिया बैंकले सीईओ रोशन कुमार न्यौपानेलाई २ करोड ३४ लाख ३ हजार ५४७ रुपैयाँ भुक्तानी गरेको छ ।

सानिमा बैंकले सीईओलाई २ करोड १४ लाख ६ हजार रुपैयाँ तलब, भत्ता बापत भुक्तानी गरेको छ । बैंकले भुवन कुमार दाहाल र निश्चल राज पाण्डेलाई उक्त रकम प्रदान गरेको हो ।

बैंकका अनुसार गत वर्ष माघ ११ गतेसम्म दाहाल सीईओ रहेका थिए भने माघ १२ गते निश्चल राज पाण्डे सीईओ भएका छन् ।

त्यसैगरी, सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा सीईओलाई २ करोड ८० लाख ५६ हजार २५६ रुपैयाँ तलबभत्ता बापत भुक्तानी गरेको छ । बैंकले निवर्तमान सीईओ शम्भु नाथ गौतम र सुन्दर प्रसाद कंडेललाई उक्त रकम प्रदान गरेको हो । गौतमको कार्यकाल २०७८ साउन २५ गते दखि सकिएको थियो ।  साउन २६ गतेदेखि लागु हुने गरी नायब प्रमुख कार्यकारी कंडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको थियो । पछि २०७८ मंसिर २७ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो ।

एनएमबि बैंकले सीईओ सुनिल केसीलाई २ करोड ३४ लाख ८४ हजार ६८८ रुपैयाँ तलब भत्ता दिएको छ ।

प्राइम बैंकले सीईओ नारायणदास मानन्धरलाई २ करोड १० लाख १५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

नेपाल एसबिआई बैंकले दिपक कुमार दे लाई गत आवमा १ करोड ५४ लाख २३ हजार ९९६ रुपैयाँ भुक्तानी गरेको छ ।

बैंक अफ काठमाण्डूले सीईओ श्रवणलाल मास्केलाई १ करोड २७ लाख ८५ हजार २७४ रुपैयाँ तलब भत्ता बापत दिएको छ ।

सेञ्चुरी बैंकले सीईओ मनोज न्यौपानेलाई १ करोड १५ लाख ८७ हजार ८९२ रुपैयाँ भुक्तानी गरेको छ ।

सिटिजन्स बैंकले सीईओ गणेशराज पोखरेललाई १ करोड ७६ लाख ३० हजार ७७६ रुपैयाँ तलब भत्ता दिएको छ ।

सिभिल बैंकले सीईओ सुनिल पोखरेलाई १ करोड ४१ लाख २५ हजार ४०९ रुपैयाँ तलब भत्ता दिएको छ ।

लक्ष्मी बैंकले सीईओ अजय बिक्रम शाहलाई १ करोड ३२ लाख ३२ हजार रुपैयाँ तलब भत्ता

एनसीसी बैंकले सीईओ रमेशराज अर्याललाई १ करोड ३२ लाख रुपैयाँ तलब भत्ता दिएको छ ।

माछापुच्छ्रे बैंकले सीईओ सन्तोष कोइरालालाई १ करोड ७९ लाख ६८ हजार रुपैयाँ तलब भत्ता दिएको छ ।

रमेशराज अर्याललाई १ करोड ३२ लाख रुपैयाँ तलब भत्ता दिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले सीईओ किरणकुमार श्रेष्ठलाई तलबभत्तावापत ६६ लाख ४ हजार  १९१ रुपैयाँ प्रदान गरेको छ ।

नेपाल बैंकले सीईओ कृष्ण बहादुर अधिकारीलाई सबैभन्दा थोरै ६४ लाख ५२ हजार ३०७ रुपैयाँ तलबभत्ता दिएको छ  ।

कृषि विकास बैंक, सनराइज बैंक र एभरेष्ट बैंकको भने वार्षिक प्रतिवेदन आउन बाँकी छ ।

कालोसूचीमा पर्नेको संख्या बढ्दै

पछिल्लो समय आर्थिक गतिविधिमा मन्दी आएको छ । घरजग्गा कारोबार सुस्ताएको छ । व्यापार व्यवसायमा मन्दी आउँदा व्यवसायीले  तोकिएको समयमा साँवा, ब्याज भुक्तानी गर्न सकेका छैनन् । जसको कारण  बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको छ ।

पछिल्लो एक वर्षमा बैकहरुको कुल खराब कर्जा करिब १ खर्ब रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पुससम्म २२ वाणिज्य बैंकको कुल खराब कर्जा ४५ अर्ब ८२ करोड रुपैयाँमा सीमित थियो । एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा करिब साढे ५४ अर्ब रुपैयाँले बढेको छ । बैंकको खराब कर्जा बढेसँगै कालोसूचीमा पर्ने ऋणीको संख्या बढिरहेको छ ।

व्यापारमा छाएको मन्दीका कारण व्यापारीहरु बैंकबाट लिएको ऋणको सावाँ, ब्याजको भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका छन्  ।

सूचनाका अनुसार गत वर्षको तुलनामा यस वर्ष कालोसूचीमा पर्नेको संख्या बढेको छ । चालु आर्थिक वर्षको ७ महिना नबित्दै कालोसूचीमा पर्नेको संख्या साढे १४ हजार नाघेको छ । केन्द्रका अनुसार माघ १५ गतेसम्म कालोसूचीमा पर्नेको संख्या १४ हजार ६०१ जना पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यस्तो संख्या १५ हजार ९९५ मात्र थियो ।

चर्को ब्याजदरको चपेटामा व्यवसायी

बैंकका सीईओहरु भने करोडमा तलब बुझ्छन् । तर व्यवसायी भने चर्को ब्याजदरमा पिल्सिएका छन् । बैंक तथा वितीय संस्थाबाट ऋण लिएका कतिपय व्यवसायीहरु ऋण तिर्न नसक्ने अवस्थामा पुगेपछि आत्महत्याको बाटो रोजेका छन् ।

व्यवसायीहरु ब्याजदर घटाउन माग गर्दै निरन्तर आन्दोलनरत छन् । बैंकहरु सधैँ नाफामा जाने तर व्यवसायीले मात्र घाटा खानुपर्ने अवस्था आएको भन्दै संघर्षमा उत्रिएका छन् ।

बैंकलाई चाहिँ कानुन नै बनाएर संरक्षण गर्ने तर व्यवसायीहरु चाहिँ मरे पनि मरोस् भनेर राज्यले नै उपेक्षा गरेको नाडा अटोमोबाइल्स एशोसियसन अध्यक्ष ध्रुब थापा बताउँछन् ।

बैंक जसरी पनि नाफामा जानुपर्छ भन्ने प्रवृत्तिले गर्दा व्यवसायीहरु मर्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘बैंक वित्तीय संस्थाहरु घाटामा जानै हुँदैन भन्ने खालको परिपाटी छ  । ठिक छ घाटामा कोही पनि जान हुँदैन व्यवसायीहरु पनि घाटामा जान हुँदै वित्तीय संस्था पनि जान हुँदैन त्यो आफ्नो ठाउँमा छ । तर व्यसायी मर्दै गर्दा व्यवसायी घाटामा जाँदै गर्दा वित्तीय संस्था पनि बच्दैन होला नि ?  व्यवसायी चाँही घाटामा गए नि हुने तर बैंक तथा वित्तीय संस्था नाफामै जानुपर्ने । त्यही अनुसारको संरक्षणका नीतिहरु बन्नुपर्ने । राज्यले हेर्नुपर्ने दायित्व व्यवसायीलाई पनि हो । बैंकलाई चाहिँ कानुन नै बनाएर संरक्षण गर्ने तर व्यवसायीहरु चाहिँ मरे नि मरुन भन्ने प्रवृत्ति नेपालमा भयो । यो दीर्घकालीनरूपमा राम्रो होइन ।’

राज्यले व्यवसायीलाई पनि हेर्नुपर्ने उनी बताउँछन् । अहिलेको अवस्थामा बैंकहरुले ब्याजदर घटाउनुपर्ने उनको माग छ । उनी भन्छन्, ‘ब्याजदर घट्नुपर्छ भन्ने आम व्यवसायीको माग हो । ब्याजदरलाई नियन्त्रण गर्नुपर्छ । ब्याजदर नै सीमामा छैन भने मोनिटरिङ गर्ने निकायको के काम ? बैंक मात्र होइन व्यवसायीले पनि बाच्नुपर्छ ।’

बैंकहरुले व्यवसायीको घाँटी अठ्याउने काम गरेको नाम नखुलाउने शर्तमा रियल स्टेटको व्यवसाय गर्दै आएका एक व्यवसायीले बताए ।

उनी भन्छन्, बैंकहरुको अत्याचार बढेको छ । बैंकहरुमा माडेको हाबी भएको छ । यसैगरी मारवाडीको हाबी हुने हो भने केही समयपछि हामी नेपाली भन्न नि पाउँदैनौं होला ।’

राष्ट्र बैंकले पनि पिडितको पीडा नबुझेको उनी बताउँछन् । उनी भन्छन्, ‘बैंकबाट ऋण लिने सावा ब्याज नतिर्ने अनी सडक आन्दोलन गर्ने, भनेर गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक रुपमै भन्नुभयो । तर उहाँलाई पनि सत्य तथ्य पिडितको सबै कुरा सायद थाहा रहेनछ भन्ने कुरा भान भयो । म भन्छु बैंकबाट ऋण लिएपछि तिर्नुपर्छ तर बैंकको नियत अर्काको अरबौँको सम्पत्तिलाई  कौडीको भाउमा चाहिँ खान मिल्दैन ।

बैंकहरुले ऋणीको अरबौँ सम्पत्ति कौडीको भाउमा हडप्न खोजेको उनको आरोप छ । ‘बैंकका सीईओहरु जनताको पैसाबाट अरबौँ तलबभत्ता लिने अनि व्यावसायीलाई मार्ने ?’ आक्रोशित भावमा उनले भने ।,

राष्ट्र बैंकले पनि बैंकहरुलाई मात्र सुरक्षित गरेर व्यवसायी मार्ने काम गरेको उनको आरोप छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *