प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनविरुद्ध उजुरी परेको छ । सीईओमा शेरचनको पुनः नियुक्त ऐन विपरित रहेकाे भन्दै साे नियुक्ती खारेज गर्न नेपाल राष्ट्र बैंककाे सुपरिवेक्षण विभागमा उजुरी परेकाे हो ।
उनको नियुक्तीविरुद्ध उजुरी परेको राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव प्रसाद ढकालले जानकारी दिए ।
माघ १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शेरचनलाई सीईओमा पुनः नियुक्त गरेकाे थियो । बैंककाे सञ्चालक समितिकाे बैठकले माघ १५ गते देखि लागू हुने गरी शेरचनलाई ४ बर्षे कार्यकालका लागि पुनः नियुक्त गरेको हो । शेरचन यसअघि पनि प्रभु बैंकको दुई कार्यकालका सीईओ भइसकेका छन् ।
बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार एउटै व्यक्ति २ कार्यकालका लागि मात्र सीईओमा नियुक्त हुन पाउँने ब्यबस्था छ ।
‘सञ्चालक समितिले यस ऐन, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बैंक तथा वित्तीय संस्थाको व्यवस्थापन गर्न एक कार्यकारी प्रमुखको नियुक्ति गर्नु पर्नेछ । कार्यकारी प्रमुखको कार्यकाल बढीमा चार वर्षको हुनेछ र निज अर्को एक कार्यकालका लागि पुनः नियुक्ति हुन सक्नेछ ।’ बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ मा लेखिएको छ ।
शेरचनकाे नियुक्ती बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ विपरित रहेको देखिएको भन्दै ऐन विपरित गएर गरिएको नियुक्ती खारेजी गरिपाउँ भन्दै राष्ट्र बैंकमा उजुरी परेकाे हो ।






