काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेर प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ।
अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले सोमबार आयोगको केन्द्रीय कार्यालय पुल्चोकमा पुगेर निवेदन दर्ता गराएका हुन्।
निवेदनमा उल्लेख भए अनुसार, गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा समस्याका विषयमा भारतीय दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तको टोलीले पक्राउ गरेको थियो । हिरासतमा राखिएको करिब आधा घण्टापछि गुरुङको नेतृत्वमा आएको एक टोली अनधिकृत रूपमा हिरासत कक्षभित्र प्रवेश गरी धम्की र दुर्व्यवहार गरेको दाबी गरेका छन्।
उजुरीमा घटनाको निष्पक्ष छानबिन, सीसीटीभी फुटेज तथा आगन्तुक अभिलेख सुरक्षित गरी अध्ययन गर्न र दोषीमाथि कानुनी कारबाही गर्न माग गरिएको छ। साथै, अनधिकृत व्यक्तिलाई हिरासत क्षेत्रमा प्रवेश गराउन भूमिका खेलेका प्रहरी कर्मचारीमाथि पनि विभागीय कारबाही गर्नुपर्ने माग गरिएको छ।








