काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत बिहीबार भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलले पराजित गरेको छ।
अमेरिकाको डालासस्थित रंगशालामा भएको खेलमा इंग्ल्याण्डलाई जित दिलाउन ह्यारी केनले दुई तथा जुड बेलिङ्हम र मार्कस र्यासफोडले एक–एक गोल गरे।
क्रोएसियाका लागि मार्टिन बुटुरिना र पिटर मुसाले गोल फर्काए।
खेलको १२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै केनले इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए।३६औँ मिनेटमा बुटुरिनाले गोल गर्दै खेल बराबरीमा ल्याए।
त्यसपछि ४२औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई पुनः अग्रता दिलाए पनि पहिलो हाफको अतिरिक्त समयमा मुसाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो।
दोस्रो हाफको सुरुमै ४७औँ मिनेटमा बेलिङ्हमले गोल गर्दै इंग्ल्याण्डलाई ३–२ को अग्रता दिलाए।
८५औँ मिनेटमा र्यासफोडले गोल थपेपछि इंग्ल्याण्डले ४–२ को सहज जित निकाल्यो।
प्रतियोगिताअन्तर्गत घाना र पानामाबीचको खेल जारी छ। यस्तै, शुक्रबार बिहान उज्बेकिस्तान र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ।






