काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण तथा श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले निगरानी र अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।
विभागका अनुसार पछिल्लो अवधिमा मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ उजुरी दर्ता भएका छन्।
सोही अवधिमा २८ वटा पक्राउ पुर्जी जारी गरिएको छ भने नौ जनालाई पक्राउ गरी उपस्थित गराइएको छ।
नौ वटा मुद्दा आपसी मिलापत्रमार्फत टुंग्याइएको विभागले जनाएको छ।
संस्था अनुगमन शाखाले म्यानपावर कम्पनीहरूलाई पाँच वटा पत्राचार गरेको छ भने १६ वटा राहदानी वितरण गरेको छ।
राहत, उद्धार तथा समन्वय शाखाले छ जनाको उद्धार गर्नुका साथै दुई जनालाई क्षतिपूर्ति उपलब्ध गराएको छ।
उक्त शाखामा १० वटा नयाँ उजुरी दर्ता भएका छन् भने १३ वटा द्विपक्षीय छलफल र १५ वटा परामर्श सेवा प्रदान गरिएको छ।
सरकारको ‘हेलो सरकार’ प्रणालीमार्फत प्राप्त ११ वटा गुनासोमध्ये नौ वटाको समाधान गरिएको विभागले जनाएको छ।
यस्तै, विभागको कल सेन्टरमा प्राप्त ४७ गुनासोमध्ये २९ वटाको सम्बोधन भइसकेको छ भने बाँकी प्रक्रियामा रहेका छन्।
विभागले राहत तथा उद्धारसम्बन्धी गुनासो पठाउँदा आवश्यक कागजातसहित आधिकारिक पत्राचार गर्न आग्रह गर्दै त्यसले उद्धार तथा समन्वय कार्यलाई थप प्रभावकारी बनाउने जनाएको छ।






