अमेरिका–इरान समझदारीमा ३०० अर्ब डलरको निजी लगानी कोष प्रस्ताव

काठमाडौं — अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि तयार पारिएको प्रारम्भिक समझदारीमा इरानमा लगानी प्रवाह बढाउने उद्देश्यले ३०० अर्ब अमेरिकी डलरको निजी लगानी कोष स्थापना गर्ने प्रस्ताव समेटिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार उक्त रकमको आधाभन्दा बढीका लागि लगानी प्रतिबद्धता प्राप्त भइसकेको छ।

फेब्रुअरी २८ देखि जारी द्वन्द्व अन्त्य गर्ने रूपरेखामा दुवै पक्ष सहमत भइसकेका छन् भने औपचारिक हस्ताक्षरको तयारी भइरहेको छ।

सहमतिअनुसार अमेरिकाले इरानमाथिका केही प्रतिबन्ध हटाउने र होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने अपेक्षा गरिएको छ।

रोयटर्ससँग कुरा गरेका स्रोतहरूका अनुसार प्रस्तावित कोष सरकारी सहायता वा क्षतिपूर्ति कार्यक्रम नभई निजी क्षेत्रको लगानी कोष हुनेछ।

ऊर्जा, यातायात, उत्पादन र पूर्वाधार क्षेत्रमा लगानी केन्द्रित गरिनेछ। अमेरिका, खाडी मुलुक, एसिया, दक्षिण अमेरिका र अफ्रिकाका विभिन्न कम्पनीहरूले लगानीमा रुचि देखाएका छन्।

इरानले सुरुमा युद्धबाट भएको क्षतिको क्षतिपूर्तिस्वरूप ४०० अर्ब डलर माग गरेको भए पनि त्यसको सट्टा पुनर्निर्माण तथा विकासका लागि निजी लगानी कोषको अवधारणा अघि बढाइएको जनाइएको छ।

युद्धबाट प्रभावित औद्योगिक प्रतिष्ठान, तेल प्रशोधन केन्द्र, विमानस्थल र अन्य पूर्वाधार पुनर्निर्माणमा उक्त रकम उपयोग गरिने बताइएको छ।

स्रोतका अनुसार अन्तिम सम्झौता नभएसम्म कोष स्थापना हुने छैन। प्रस्तावित समझदारीपत्रले आगामी ६० दिनभित्र कोषको संरचना, परियोजना छनोट र कार्यान्वयन प्रक्रिया तय गर्ने आधार तयार गर्नेछ।

आणविक कार्यक्रम, प्रतिबन्ध र क्षेत्रीय सुरक्षासम्बन्धी विषयमा भने अमेरिका र इरानबीच छुट्टै वार्ता जारी रहने जनाइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *