काठमाडौँ ।अमेरिकाको मिसौरी राज्यमा स्काइडाइभर बोकेको सानो विमान दुर्घटनाग्रस्त हुँदा १२ जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूका अनुसार स्काइडाइभिङ कम्पनीले भाडामा लिएको विमान आइतबार बिहान उडेको केही समयमै दुर्घटनामा परेको हो। विमानमा ११ जना स्काइडाइभर र एक पाइलट सवार थिए।
दुर्घटनामा सबैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
बेट्स काउन्टी आपत्कालीन व्यवस्थापन कार्यालयका अनुसार विमानले आवश्यक उचाइ लिन नसकेपछि अचानक बायाँ मोडिएको थियो र बटलर मेमोरियल विमानस्थलबाट करिब २०० यार्ड टाढा खसेको थियो।
बेट्स काउन्टीका शेरिफ चाड एन्डरसनले घटनालाई ठूलो मानवीय क्षति भएको दुर्घटना भन्दै विमान कुनै व्यावसायिक यात्रुवाहक नभई स्थानीय विमानस्थलबाट सञ्चालन हुने सानो विमान रहेको बताए।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार दुर्घटनाग्रस्त विमान ‘प्यासिफिक एरोस्पेस पी–७५०’ मोडेलको थियो।
प्रारम्भिक विवरणअनुसार विमान उड्ने क्रममा दुर्घटनामा परेको हो।
दुर्घटना भएको समयमा उक्त क्षेत्रमा हवाई यातायात नियन्त्रण सेवा सञ्चालनमा नरहेको जनाइएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनापछि कुनै स्काइडाइभर विमानबाट हाम फाल्न सफल भए वा नभएको विषयमा पनि अनुसन्धान गरिएको थियो। मृतकहरूको परिचय भने सार्वजनिक गरिएको छैन।
क्यान्सस सिटी महानगरीय क्षेत्रबाट करिब ५० माइल दक्षिणमा रहेको बटलर क्षेत्रमा भएको दुर्घटनाबारे अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)ले अनुसन्धान गरिरहेको छ।
एफएएले पनि अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ।






