काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सीमा विवादको कुरा कूटनीतिक च्यानलमार्फत उठाउनुपर्ने बताए। पाँच दिने भारत भ्रमणबाट स्वदेश फर्किएका लामिछानेले संचारकर्मीहरु सँगको कुराकानीमा यस्तो बताएका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य शीर्ष भाजपा नेतृत्वसँग सीमा विवादबारे चर्चा किन नगरेको भन्ने प्रश्नमा उनले भने, ‘कुनै पनि विषय कूटनीतिक माध्यमबाट डिप्लोमेटिक च्यानलहरूलाई एक्टिभ गराएर गरिने कुरा सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्छ,’ सीमा मुद्दा जस्तो कुरा ढोल बजाएर, हल्ला गरेर समाधान हुँदैन।’
उनले कूटनीतिक तवरले कुरा गर्दा बाहिर हल्ला नहुने भएपनि त्यसको प्रभावकारिता धेरै हुने उल्लेख गरे। यसबारे नेपालले हिजो पनि कुरा राखेको र आज पनि कुरा राखिरहेको भन्दै उनले अगाडि भने, ‘कहिलेकाहीँ सडकका सदनका वा मिडियाका चासोहरूभन्दा अझ माथि अझ संवेदनशील भएर अगाडि बढेका हुन्छन्। त्यस ढंगले कुराहरू अगाडि बढेको छन्।’
भारत भ्रमणका अवसरमा सत्ता परिवर्तनको चर्चाबारे सभापति लामिछानेले आफ्नो पार्टी अस्थिरताको पक्षमा नभएको बताए। उनले आफ्नो पार्टीलाई जनताले स्थिरताका लागि मतदान गरेको भन्दै उक्त सहमतिमा अडिग रहेको बताए।







