काठमाडौं । ९.९८ मेगावाटको अप्पर माई जलविद्युत आयोजना बन्द गरिएको छ। आयोजनामा देखिएको प्राविधिक समस्या समाधानका लागि मर्मत कार्य आवश्यक भएपछि विद्युत उत्पादन अस्थायी रूपमा रोकिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आयोजनाको एक्सपान्सन जोइन्टमा अत्यधिक पानी चुहावट देखिएपछि तत्काल मर्मत गर्नुपर्ने अवस्था सिर्जना भएको हो। मर्मतका लागि टनेल पूर्ण रूपमा खाली गर्नुपर्ने भएकाले मिति २०८३ जेठ १५ गते दिउँसो ३ बजेदेखि विद्युत उत्पादन बन्द गरिएको हो।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई यसबारे औपचारिक जानकारी गराएको छ। अपरेसन म्यानेजर भोला नाथ उपाध्यायले पठाएको पत्रमार्फत मर्मत कार्य सम्पन्न भएपछि आयोजना पुनः सञ्चालनमा ल्याइने स्पष्ट पारिएको छ।
कम्पनीले आवश्यक प्राविधिक मर्मत यथाशीघ्र सम्पन्न गरी विद्युत उत्पादन पुनः सुरु गर्ने तयारी भइरहेको जनाएको छ।







