काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले संसद् लगातार अवरुद्ध भइरहेका बेला सभामुखको भूमिका कमजोर देखिएको टिप्पणी गरेकी छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले संसद् सञ्चालन प्रभावकारी हुन नसकेको भन्दै सभामुख डोलप्रसाद अर्यालको अनुहार ‘निन्याउरो’ देखिन थालेको बताएकी हुन् ।
उनले संसद् अवरोधका कारण सभामुखले आफ्नै कार्य सञ्चालन गर्न नपाएको जस्तो अवस्था देखिएको उल्लेख गर्दै यस्तो स्थिति राम्रो नभएको टिप्पणी गरेकी छन् ।
तामाङले विपक्षी दल सधैँ गलत नहुने भन्दै संसद् भित्रै आएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने धारणा पनि राखेकी छन् ।
उनले आफ्नो स्टाटसमा लेखेकी छन्, “सभामुखको मुख सानो सानो, न्याउरो हुँदै गएको देख्छु यो राम्रो हो त ? मलाई मात्र होइन धेरैलाई लाग्छ उहाँले आफूले चाहेर पनि आफ्नो कार्य सभा सञ्चालन गर्न पाउनुभएको छैन ।”
त्यसैगरी उनले प्रधानमन्त्रीलाई लक्षित गर्दै सदनमा उपस्थित भएर प्रतिपक्षका सवालहरूको जवाफ दिन आग्रह गरेकी छन् । “त्यसैले म प्रधानमन्त्रीज्यूसँग अपिल गर्छु, तपाईं हाम्रो अभिभावक हो… सदनमा आएर जवाफ दिनुहोस्,” उनले लेखेकी छन् ।
उनले राष्ट्रियताजस्ता संवेदनशील विषयमा सत्ता र प्रतिपक्षबीच विभाजन हुनु नहुने भन्दै सहकार्य र संवादमार्फत समस्या समाधान गर्नुपर्ने बताएकी छन् । सांसद तामाङले उठाएको विषयले संसद् अवरोध र राजनीतिक असहमति बढिरहेका बेला थप बहस सुरु भएको छ ।






