काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले संसद्को रोष्ट्रमबाट ‘राष्ट्रघाती’ अभिव्यक्ति दिएको आरोप लगाएका छन्।
बुधवार काठमाडौँमा आयोजित एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री शाहको व्यवहारलाई ओलीले ‘बचपना’को संज्ञा दिँदै भने, ‘उहाँ (प्रधानमन्त्री)ले देशद्रोही कुरा गर्नुभयो, नेपालले भारतको जमिन मिचेको धेरै ठाउँमा छ भनेर भन्नुभयो ।’ आफ्नै नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्दा प्रधानमन्त्री उठेर हिँडेको प्रति पनि ओलीको कटाक्ष थियो ।
‘के इमरजेन्सी थियो ? कुनै इमरजेन्सी हुन सक्दैन’, उनले भने, ‘बचकना, लापरबाही र अहङ्कार हो ।’ सीमा सम्बन्धी प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिबारे ओलीले अचानक झुल्केर देशद्रोही कुरा गरेको बताए ।
‘उहाँले नेपालले भारतको धेरै ठाउँमा सीमा मिचेको भनेर भन्नुभयो । धेरै ठाउँमा होइन, एक ठाउँमा पनि मिचेको छैन’, ओलीको प्रस्टीकरण थियो ।
उनले असत्य, झुट, राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोलेको भन्दै त्यस्तो कसैले पनि बोल्न नहुने बताए । ‘त्यस्ता बोल्नुहुँदैन थियो । कसको पक्षमा के का लागि बोलियो ?’, उनले प्रश्न गरे ।
ओलीले दुई देशबिचका समस्यामा अर्को देशलाई सहभागी गराउने कुराको पनि विरोध गरे । ‘हामी हाम्रा छिमेकीहरूसँगको कुनै छलफल र विवाद पर्यो भने आफै समाधान गर्छौ । तेस्रो पक्षलाई सामेल गर्दैनौ’, ओलीले प्रधानमन्त्रीले यो नेपालको नीति भएकाले प्रक्रिया अघि बढाएको अभिव्यक्तिप्रति चर्को असन्तुष्टि जनाए ।
‘नेपाल तपाईं घरको सम्पत्ति होइन,नेपाल तपाई जन्मनुभन्दा धेरै अगाडि देखिको देश हो । यस देशले आफ्ना परराष्ट्र नीति स्थापित र तय गरेको छ’, ओलीले भने– ‘एक छिन कोही भुलचुकले प्रधानमन्त्रीमा आइपुग्यो भनेर जथावाभी गर्न दिइने छैन र दिइने छैन ।’






