लुम्बिनीमा एमालेका ४ मन्त्रीले एकैसाथ राजीनामा दिँदै

दाङ । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी ४ मन्त्रीले राजिनामा दिने भएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन्।

सरकार पुनर्गठनको तयारीस्वरूप भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले पदबाट राजीनामा दिने तयारी गरेका छन्। उनीहरूले आज साँझसम्म राजीनामा बुझाउने जनाइएको छ।

नेपाली कांग्रेससँगको सत्ता साझेदारी तथा सरकार पुनर्गठनबारे लामो समयदेखि छलफल चलिरहेकामा एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो। यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेरको प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन गर्नुपर्ने अडान लिएपछि प्रक्रिया रोकिएको थियो।

एमाले स्रोतका अनुसार नयाँ मन्त्रीका रूपमा गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ। खत्री यसअघि प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् भने अन्य तीन जना मन्त्री पदका लागि नयाँ अनुहार मानिएका छन्।

यसैबीच लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ मा झार्ने निर्णय गरिसकेको छ। मन्त्रालय संख्या कटौतीको विषय प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ। सरकार पुनर्गठनसँगै मन्त्रालय संरचनामा समेत परिवर्तन हुने अपेक्षा गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *