बालेन्द्रको बचाउ गर्न रास्वपाका सांसदहरू नेपालले भूमि मिचेको प्रमाण खोज्दै हिँडिरहेका छन् : सांसद ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक सांसद खुस्बु ओलीले प्रधानमन्त्री वालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिको बचाउ गर्न केही सांसदहरू नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्न लागिपरेको आरोप लगाएकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछाड्ने अडान लिनेहरू नै आज आफ्नै नेताको बचाउका लागि नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्दै हिँड्नु विडम्बनापूर्ण भएको बताइन्।

“हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडेका छन्। त्योभन्दा दुखद् विषय अरू केही हुन सक्दैन,” उनले भनिन्।

ओलीले प्रधानमन्त्री शाहले संसद्मा दिएको अभिव्यक्ति कूटनीतिक, कानुनी तथा राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यन्त गम्भीर रहेको जिकिर गरिन्। प्रधानमन्त्रीको भनाइलाई व्यक्तिगत अभिव्यक्तिका रूपमा लिन नमिल्ने उल्लेख गर्दै उनले राज्यको सर्वोच्च पदबाट व्यक्त हुने धारणा राष्ट्रिय नीतिसँग जोडिने बताइन्।

“प्रधानमन्त्री व्यक्ति मात्र होइन, संस्था हो। राज्यको सर्वोच्च संस्थाबाट आएको फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढाउँछ,” उनले भनिन्।

उनले सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानबारे बहस हुन सक्ने भए पनि कुनै नेताको अभिव्यक्तिको बचाउका लागि नेपालको दाबी कमजोर बनाउने प्रयास राष्ट्रवाद हुन नसक्ने टिप्पणी गरिन्।

त्यसैगरी, मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले पनि प्रधानमन्त्रीले ‘नेपालले भारतको भूमि मिचेको’ भन्ने आशयको अभिव्यक्ति दिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरे।

“प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भनेर राखेको अभिव्यक्तिमा रास्वपाले आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ,” उनले भने। दुलालले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले सदनमा आएर पुनः स्पष्टिकरण दिनुपर्ने माग समेत गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *