काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म बैंकिङ क्षेत्रमा अधिक तरलता रहे पनि कर्जा प्रवाह सुस्त रहेको देखिएको छ। बुधवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सर्वेक्षणले यस्तो देखाएको हो ।
सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ६.६४ प्रतिशतले वृद्धि भई ७७ खर्ब ४५ अर्ब ८८ करोड पुगेको छ । बैंकहरुमा अधिक तरलता रहे तापनि सोही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा भने ४.४ प्रतिशतले मात्र वृद्धि भएको छ।
यसरी ४.४ प्रतिशतले वृद्धि भएर ५७ खर्ब ४१ अर्ब २४ करोड पुगेको छ । यसले निक्षेपको तुलनामा कर्जा विस्तार कमजोर रहेको संकेत गरेको छ।
किङ क्षेत्रमा अधिक तरलता रहेकाले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) सहज अवस्थामा रहेको छ। २०८२ फागुन मसान्तसम्म सीडी रेसियो ७४.०७ प्रतिशत कायम भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। कुल निक्षेपमा कुल कर्जाको हिस्सा ८०.०७ प्रतिशत रहेको छ।
यता अर्थतन्त्रमा देखिएको शिथिलताको असर बैंकिङ क्षेत्रमा पनि परेको देखिएको छ। सर्वेक्षणअनुसार निष्क्रिय कर्जा (खराब कर्जा) को औसत अनुपात बढेर ५.४२ प्रतिशत पुगेको छ। यसले बैंकहरूको कर्जा असुलीमा चुनौती थपिएको र बैंकिङ प्रणालीमा जोखिम बढ्दै गएको संकेत गरेको छ।
यद्यपि, वित्तीय पहुँच र डिजिटल बैंकिङतर्फ भने उल्लेख्य सुधार देखिएको छ। फागुनसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या ६ करोड २० लाख ६० हजार २२२ पुगेको छ भने कर्जा खाताको संख्या २० लाख ४० हजार १४८ पुगेको छ।
त्यस्तै मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ९४ लाख र इन्टरनेट बैंकिङ प्रयोगकर्ता २३ लाख ७४ हजार पुगेका छन्। डिजिटल भुक्तानी प्रणालीतर्फ आकर्षण बढ्दै जाँदा क्युआरमा आधारित कारोबार मात्रै फागुनसम्म १ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।





