काठमाडौं। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ।
अन्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ।
मधेश प्रदेश तथा बागमती, गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ।





