सीजी नेटद्वारा वाई-फाई सिक्समा आधारित उच्च गतिको इन्टरनेट सेवा सुरु, ९० दिनसम्म फुल रिफन्ड अफर

काठमाडौँ- इन्टरनेट सेवाप्रदायक कम्पनी CG Net ले वाई-फाई सिक्स (Wi-Fi 6) प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ ।

ग्राहकलाई अझ तीव्र, भरपर्दो र सहज इन्टरनेट अनुभव प्रदान गर्ने उद्देश्यले कम्पनीले यो नयाँ सेवा बजारमा ल्याएको हो । पछिल्लो समय भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ, वर्क फ्रम होम तथा स्मार्ट होम डिभाइसहरूको प्रयोग र माग बढ्दै गइरहेको सन्दर्भमा यो प्रविधि निकै प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीका अनुसार वाई-फाई सिक्स प्रविधिमार्फत प्रयोगकर्ताले उच्च गति, न्यून लेटेन्सी तथा एकैपटक धेरै डिभाइसहरू सहज रूपमा जडान गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् । प्राविधिक रूपमा यस प्रविधिमार्फत अधिकतम ९.६ जीबीपीएससम्मको गति प्राप्त गर्न सकिन्छ, जुन वाई-फाई फाइभको तुलनामा करिब ४.५ गुणा बढी ब्यान्डविथ हो ।

साथै, यसमा लेटेन्सी करिब २० मिलिसेकेन्डसम्म मात्र सीमित हुने भएकाले भिडियो कल वा अनलाइन गेमिङका क्रममा आउने ‘ल्याग’ को समस्या न्यून हुनेछ । नेटवर्क क्षमतालाई चुस्त बनाउन यसमा OFDMA, 1024-QAM तथा 8×8 MU-MIMO जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ, जसले गर्दा एकैपटक १२८ वटासम्म डिभाइस जडान हुँदा पनि इन्टरनेटको गुणस्तर स्थिर रहन्छ ।

नयाँ प्रविधिको सुरुवातसँगै सीजी नेटले विभिन्न आकर्षक प्याकेजहरू पनि सार्वजनिक गरेको छ । जसअनुसार इन्टरनेट मात्र भएको वार्षिक प्याकेजको शुल्क रु १४,४९९ तोकिएको छ भने मेस राउटरसहितको प्याकेज रु १७,१३० मा उपलब्ध हुनेछ ।

त्यसैगरी, ग्राहकले आईपीटीभी सहितको प्याकेज रु १६,२७६ मा र आईपीटीभी तथा मेस राउटर दुवै समावेश भएको प्याकेज रु १८,९०७ मा खरिद गर्न सक्नेछन् ।

यसका साथै कम्पनीले नयाँ ग्राहकहरूलाई लक्षित गर्दै ४०० एमबीपीएस गतिको इन्टरनेट सेवामा ९० दिनसम्मको ‘फुल रिफन्ड अफर’ समेत ल्याएको छ ।

यस अफरअन्तर्गत सेवा प्रयोग गर्दा ग्राहक सन्तुष्ट नभएमा ९० दिनभित्र आफ्नो पूर्ण रकम फिर्ता पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यस सेवा र अफरका बारेमा थप जानकारी लिन चाहनेले कम्पनीको फोन नम्बर ०१-५९७०११३ / ०१-५९७०११४, इमेल customercare@cgnet.com.np वा आधिकारिक वेबसाइट www.cgnet.com.np मार्फत सम्पर्क गर्न सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *