काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधि सभा सदस्य आशिका तामाङले महिला तथा मातृत्वसँग जोडिएका संवेदनशील विषयहरूमा प्रमाणसहित निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेकी छन्।
पछिल्लो समय मोरङ–२ का सांसद कृष्णकुमार कार्कीमाथि लागेका गम्भीर आरोपहरूतर्फ सङ्केत गर्दै उनले सत्यतथ्य बाहिर ल्याउन अनुसन्धान अपरिहार्य रहेको कुरामा जोड दिएकी हुन्।
सांसद तामाङले सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै महिला चाहे स्वदेशी हुन् वा विदेशी, उनीहरू यो धर्तीकै आमा भएको उल्लेख गरेकी छन्।
उनले बाहिर देखिएका वा सुनिएका सबै कुरा शतप्रतिशत सत्य नहुन सक्ने सम्भावनालाई स्वीकार गर्दै भनेकी छन्, “देखिएका सबै कुरा सत्य नहुन पनि सक्छन्, तर सत्य जसरी बाहिर छरपष्ट आइरहेका कुराहरूको अनुसन्धान भने पक्कै हुनुपर्छ।”
विशेष गरी महिलासँग जोडिने मातृत्व जस्तो संवेदनशील विषयमा विना कुनै मोलाहिजा, प्रमाणसहित गम्भीर छानविन हुन जरुरी रहेको उनको भनाइ छ।
राजनीति र दलगत स्वार्थभन्दा माथि उठेर यस्ता विषयलाई हेरिनुपर्ने तर्क गर्दै उनले पार्टी वा परिवारको आडमा कसैले पनि उन्मुक्ति पाउन नहुने स्पष्ट पारेकी छन्।
“पार्टीभन्दा ठूलो देश र देशभन्दा ठूलो यो संसार हो,” सांसद तामाङले लेखेकी छन्, “यहाँ कसैलाई अन्याय हुनुहुँदैन र कसैले अन्याय गर्छ भने, चाहे त्यो आफ्नै घरको सदस्य नै किन नहोस्, हामीले गलतलाई गलत भन्न छोड्नु हुँदैन।”






