हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर र सीईओ अशोक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेड नेपाल राष्ट्र बैंकको कारबाहीमा परेको छ। राष्ट्र बैंकको एकीकृत निर्देशन, बैंकिङ नियमन तथा एकीकृत निर्देशन उल्लंघन गरेपछि हिमालयन बैंकलाई कारबाही गरिएको हो।

राष्ट्र बैंकको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा विभिन्न नियामकीय कमजोरी भेटिएपछि बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शमशेर जबरालाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकमाथि पहिलोपटक यस किसिमको कारबाही गरिएको हो।

निरीक्षणका क्रममा बैंकले सीमित ऋणीलाई निर्धारण गरिएको प्रिमियम दरमा ‘ब्याक डेट’बाट लागू हुने गरी छुट दिएको तथा उक्त रकम बक्यौता ब्याज र साँवा भुक्तानीमा प्रयोग गरेको पाइएको राष्ट्र बैंकव्द्वारा जारी सूचनामा उल्लेख छ । त्यस्तै, तोकिएको समयसीमापछि मात्रै ब्याजको १० प्रतिशत रकम प्राप्त गरी कर्जा पुनरतालिकीकरण तथा पुनर्संरचना गरिएको पनि निरीक्षणमा भेटिएको छ ।

राष्ट्र बैंकका अनुसार पुनरतालिकीकरण गरिएका कर्जामध्ये भाखा नाघेको किस्ताको साँवालाई मात्र सो वर्गमा राखेर बाँकी रकमलाई ‘असल कर्जा’कै रूपमा वर्गीकरण गरिएको छ ।  पर्याप्त कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजन) कायम नगरेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, केही कर्जालाई भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको, ऋणीको भुक्तानी अवधि अस्वाभाविक रूपमा लम्ब्याइएको तथा ९० दिनभन्दा बढी बक्यौता रहेका ‘फोर्स लोन’लाई समेत खराब कर्जाका रूपमा वर्गीकरण नगरिएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८१ विपरीत उल्लेखित कार्य गरेपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम अध्यक्षसहित सञ्चालक समिति र सीईओ अशोक राणालाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।

साथै, ऐनको दफा १०० को उपदफा १ (ख) अनुसार निर्देशन उल्लंघन गरेबापत आगामी दिनमा सुधार गर्ने प्रतिबद्धतासहित सञ्चालक समितिबाट कबुलियतनामा गराइएको राष्ट्र बैंकद्वारा जारी निर्देशनमा भनिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *