काठमाडाैं । बालेन्द्र शाह राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा बैठकबाट बाहिरिएपछि प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कडा आपत्ति जनाएको छ ।
रामचन्द्र पौडेल ले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री शाह अचानक बैठक कक्षबाट बाहिरिएका थिए । सामान्य संसदीय अभ्यासअनुसार राष्ट्रपति बाहिरिएपछि मात्र अन्य पदाधिकारीहरू बाहिरिने परम्परा भए पनि प्रधानमन्त्री बीचमै उठेर हिँडेका थिए ।
त्यसपछि साँझ बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद गुरुप्रसाद बराल ले प्रधानमन्त्रीको व्यवहारप्रति आपत्ति जनाउँदै नीति तथा कार्यक्रममा अपनत्व छ कि छैन भन्ने प्रश्न उठाए । उनले प्रधानमन्त्रीले राष्ट्रिय पोशाक नलगाएको विषयमा समेत सभामुखमार्फत रुलिङ माग गरे ।
बरालले राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्रीले मन्त्रीसँग संवाद गरिरहेको भिडियो रेकर्ड पनि हटाउन माग गरेका छन् । उनको भनाइमा विपक्षी सांसदहरूले टेबल ठोकेर समर्थन जनाएका थिए ।
सभामुख डोलप्रसाद अर्याल ले उक्त विषयबारे बुझ्न संसद सचिवालयलाई निर्देशन दिएका छन् ।
यसैबीच, प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रमको प्रति टेबल गरे पनि कुनै औपचारिक सम्बोधन नगरी बैठक कक्षबाट बाहिरिएका थिए । उक्त दृश्यपछि संसदभित्र केही क्षण असहजता देखिएको र सांसदहरूबीच हाँसोसमेत फैलिएको बताइएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह ले हालसम्म संसदमा औपचारिक सम्बोधन नगरेको विषय पनि राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ ।






