९ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा मुलुकको आर्थिक सूचकहरूमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रेमिटेन्स, विदेशी विनिमय सञ्चिति र शोधनान्तर स्थिति उल्लेखनीय रूपमा बढेको छ ।

समीक्षा अवधिमा रेमिटेन्स ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने अमेरिकी डलरमा पनि ३१.९ प्रतिशतको वृद्धि देखिएको छ ।

रेमिटेन्सको यही बढोत्तरीका कारण मुलुकको कुल विदेशी विनिमय सञ्चिति ३०.५ प्रतिशतले बढेर ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। यो सञ्चितिले १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

वैदेशिक व्यापारतर्फ निर्यात १८.५ प्रतिशत र आयात १३.८ प्रतिशतले बढेको छ। आयात र निर्यात दुवै बढे पनि रेमिटेन्सको बलियो सहाराले शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ। यस्तै, मुलुकको चालु खाता समेत ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँले बचतमा छ।

महँगीतर्फ भने चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ३.३९ प्रतिशत मात्र थियो। बैंकिङ क्षेत्रमा ब्याजदर भने निरन्तर ओरालो लागेको छ। वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ३.४० प्रतिशत र कर्जाको औसत ब्याजदर ६.७७ प्रतिशतमा झरेको छ ।

सरकारी वित्ततर्फ भने राजस्व सङ्कलनको तुलनामा खर्चको चाप बढी देखिएको छ। चैत मसान्तसम्म सरकारले १० खर्ब ५९ अर्ब ९५ करोड खर्च गर्दा ८ खर्ब ८६ अर्ब २८ करोड मात्र राजस्व परिचालन गर्न सकेको छ ।

यस्तै, पुँजी बजारमा नेप्से सूचकाङ्क २८३३.६० विन्दुमा पुगेको छ भने बजार पुँजीकरण ४८ खर्ब ३२ अर्बभन्दा माथि पुगेको राष्ट्र बैंकले जनाएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *