काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र (ई–बिडिङ) प्रणालीमा अनधिकृत पहुँच पु¥याई ठेक्का प्रक्रियामा हेरफेर गरेको तथा क्रिप्टोकरेन्सीमार्फत अवैध वित्तीय कारोबार गरेको आरोपमा २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र दायर गरिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले अभियोगपत्र दायर गरेको हो।
अभियोगपत्रमा पूर्वमन्त्री तथा राप्रपाका नेता विक्रम पाण्डे सहित विभिन्न निर्माण कम्पनीका सञ्चालक, कर्मचारी तथा प्राविधिकहरूलाई प्रतिवादी बनाइएको छ।
अनुसन्धान अनुसार आइएमएस सफ्टवेयर प्रा.लि.द्वारा सञ्चालित डेटा हबको क्लाउड सर्भरमा परीक्षणका लागि प्रयोग गरिएको VPS (Virtual Private Server) लाई माध्यम बनाएर गिरोहले सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–बिडिङ प्रणालीमा ह्याकिङ गरी ठेक्का प्रक्रियामा हस्तक्षेप गरेको देखिएको छ।
सीआईबीका अनुसार प्रणालीमा अनधिकृत पहुँचपछि बोलपत्रका विवरण हेरफेर गर्ने, ठेक्का छनोट प्रभावित पार्ने तथा प्रतिस्पर्धी कम्पनीका सूचना प्राप्त गर्ने कार्य गरिएको थियो।
त्यसैगरी, ठेक्का ‘ह्याकिङ’ बाट प्राप्त रकमको लेनदेन परम्परागत बैंकिङ प्रणालीभन्दा बाहिर गएर क्रिप्टोकरेन्सी तथा बिटक्वाइनमार्फत गरिएको पनि अनुसन्धानमा खुलेको छ। करिब १ करोड रुपैयाँभन्दा बढी बराबरको बिटक्वाइन कारोबार भएको प्रमाण फेला परेको प्रहरीको दाबी छ।
प्रहरीले प्रारम्भिक चरणमै कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डे, आशिष निर्माण सेवाका ऋषिकेश गौलीलगायतलाई पक्राउ गरेको थियो। पछि अनुसन्धान विस्तार हुँदै थप व्यक्तिहरूको संलग्नता देखिएपछि कुल २२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ भने केही अभियुक्त अझै फरार छन्।
अभियुक्तहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३, मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अनुसार सजाय माग गरिएको छ।
सीआईबीले यो प्रकरणलाई “प्राविधिक दुरुपयोगमार्फत सार्वजनिक खरिद प्रणाली प्रभावित पार्ने संगठित साइबर अपराध” को रूपमा व्याख्या गरेको छ।
अभियोगपत्र अनुसार यस प्रकरणमा कुल २२ जना प्रतिवादी र फरार प्रतिवादी यस प्रकार छन्:
पक्राउ परेका/प्रतिवादीहरू
दिवाकर देउजा
भरत धामी
सञ्जय भट्ट
सागर कटुवाल
भाष्कर राज अर्याल
जीवन कुमार दास
अनिल श्रेष्ठ
टंक कुमार श्रेष्ठ
अमृत बोहोरा
विक्रम पाण्डे
स्वदेश पोखरेल
प्रकाश ढुङ्गाना
ऋषिकेश गौली
फरार प्रतिवादीहरू
राहुल जङ्ग कार्की
नारायण प्रसाद सिटीखु
इन्द्र बहादुर बोहरा
शान्त कुमार श्रेष्ठ
निरञ्जन खनाल
कृष्ण बहादुर खत्री
ज्योति सुवेदी
सरोज दाहाल
सुजन अधिकारी






