‘स्टन्टबाजी’ नगर्न सांसदलाई रविको चेतावनी

उनले सांसदहरूको मुख्य जिम्मेवारी सामाजिक सञ्जालमा भाइरल हुनु नभई प्रभावकारी कानुन निर्माण र जनताप्रति उत्तरदायी काम गर्नु रहेको बताएका छन्।

ललितपुरमा आयोजित पार्टीको दुईदिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाले ‘जीवनी होइन, इतिहास लेख्ने’ उद्देश्यका साथ राजनीति गरिरहेको दाबी गरे।

उनले व्यक्तिगत महत्त्वाकाङ्क्षाभन्दा राष्ट्र र जनताको हितलाई केन्द्रमा राख्न सांसदहरूलाई निर्देशन दिए।

पुराना राजनीतिक दलहरूको आलोचना गर्दै आएको रास्वपाले यसपटक भने विगतका आन्दोलन र संघर्षको खुलेर सम्मान गरेको देखियो।

लामिछानेले नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी आन्दोलनका नेताहरूले गरेको त्याग र संघर्षकै जगमा अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताए।

उनले विगतका नेताहरूले परिवार र व्यक्तिगत जीवन त्यागेर दशकौँसम्म संघर्ष गरेको स्मरण गर्दै अहिलेको पुस्ताले तुलनात्मक रूपमा सहज राजनीतिक वातावरण पाएको उल्लेख गरे।

यही कारण अहिलेको पुस्ताले परिणाम दिन नसके आफूहरू इतिहासकै सबैभन्दा अयोग्य पुस्ता ठहरिने उनको भनाइ थियो।

लामिछानेले आफ्ना सांसदहरूलाई क्यामेरा र सामाजिक सञ्जालका लागि अभिनय नगर्न आग्रह गरे।

संसदीय समितिमा चर्को अभिव्यक्ति दिएर चर्चा बटुल्ने प्रवृत्ति बढिरहेको भन्दै उनले सांसदको मूल काम विधेयकमाथि गम्भीर छलफल र कानुन निर्माण भएको बताए।

उनले पार्टीभित्र ‘रवि समूह’ वा ‘बालेन समूह’ भन्ने प्रचारप्रति पनि असन्तुष्टि जनाए।

प्रधानमन्त्री बालेन्द्र शाह र आफूबीच कुनै गुटगत सम्बन्ध नरहेको स्पष्ट पार्दै गुटबन्दी गर्नेहरूले भविष्यमा अवसर नपाउने चेतावनी दिए।

सुकुम्बासी व्यवस्थापनका विषयमा पनि उनले सरकारको नीति स्पष्ट रहेको बताए।  वास्तविक भूमिहीनलाई अधिकार दिलाइने तर सार्वजनिक जग्गा अतिक्रमण र असुरक्षित बस्तीलाई निरन्तर संरक्षण गर्न नसकिने उनको भनाइ थियो।

कसैलाई घरबारविहीन नबनाइने तर कानुन कार्यान्वयनमा सम्झौता नगर्ने उनले स्पष्ट पारे।

प्रधानन्यायाधीश सिफारिसलाई लिएर उठेको विवादबारे बोल्दै लामिछानेले संवैधानिक प्रक्रियाअनुसार नै निर्णय भएको दाबी गरे।

उनले न्यायालयलाई राजनीतिक विवादको केन्द्र नबनाउन आग्रह गर्दै अदालतप्रति जनविश्वास कायम राख्नुपर्नेमा जोड दिए।

त्यसैगरी उनले सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रका लागि मात्र बजेट माग्ने पुरानो प्रवृत्तिबाट माथि उठ्न आग्रह गरे।

सिङ्गो देशलाई दृष्टिमा राखेर नीति र बजेट निर्माण गर्नुपर्ने भन्दै उनले पहुँचका आधारमा बजेट बाँड्ने परम्परा अन्त्य गर्नुपर्ने बताए।

मिडिया र आलोचनालाई सम्बोधन गर्दै उनले आलोचनालाई लोकतन्त्रको आवश्यक हिस्सा भएको बताए।

सञ्चारमाध्यमले आफ्ना कमजोरी औँल्याउँदा त्यसले पार्टीलाई सच्याउने अवसर मिल्ने भन्दै उनले आलोचनालाई स्वागत गर्ने धारणा राखे।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *