रसुवा । जिल्ला प्रहरी कार्यालय रसुवा ले धुन्चे मा अवैध विद्युतीय चुरोट (भेप)सहित एक कन्टेनर चालकलाई पक्राउ गरेको छ ।
टिमुरेबाट काठमाडौंतर्फ आउँदै गरेको ना६ख ८०२७ नम्बरको कन्टेनर नियमित जाँचका क्रममा रोकी खानतलासी गर्दा ४३६ थान भेप बरामद भएको प्रहरीले जनाएको छ ।
भन्सार पास भई सिल गरिएको कन्टेनरको अगाडिको क्याबिन भागमा लुकाएर राखिएको अवस्थामा उक्त सामग्री फेला परेको हो ।
प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ स्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको टोलीले जाँच गरेको थियो ।
सूचना अधिकारी प्रहरी निरीक्षक रमेश राय का अनुसार बरामद गरिएको भेप र कन्टेनरको अनुमानित मूल्य ३५ लाख ९० हजार रुपैयाँ रहेको छ ।
अवैध सामग्री ओसारपसारमा संलग्न रहेको आरोपमा आमाछोदिङमो गाउँपालिका–५ का चालक रवीन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।
उनलाई बरामद सामानसहित थप अनुसन्धान र कारबाहीका लागि रसुवा भन्सार कार्यालय, टिमुरेमा बुझाइएको प्रहरीले जनाएको छ ।






